Techie IT
  • ३१ भदौ २०८२, मंगलबार

नयाँ नक्साको संवैधानिक मान्यता, राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण


काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ प्रमाणीकरण गर्नु भएको छ ।

नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक बिहीबार प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरिएको विज्ञप्तिमा जानकारी दिइएको छ ।

सो विधेयक प्रतिनिधिसभाबाट गत जेठ ३१ गते र राष्ट्रियसभाबाट आज दुई तिहाइ बहुमतबाट पारित भएको थियो ।
राष्ट्रिय सभाबाट पारित भई पुनस् प्रतिनिधि सभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाउनु भएको थियो ।

सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद्बाट पास गरेको थियो ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।

प्रतिनिधि सभामा समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको हो भन्ने तथ्य र प्रमाण नपुग्ने भन्दै संशोधन विधेयक दर्ता गरेकी थिइन्, जसलाई सभामुख सापकोटाले अस्वीकृत गरिदिनु भएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्