भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिको भारतमै चर्को आलोचना

नयाँदिल्ली —
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो आफ्नै सार्वजनिक अभिव्यक्तिका कारण आलोचित भएका छन् ।
शुक्रबारको सर्वदलीय बैठकमा मोदीको चिनियाँ सेना भारतीय भूमिमा प्रवेश नगरेको भन्ने भनाइलाई लिएर विपक्षीहरु र पूर्वकूटनीतिज्ञहरुले चर्को आलोचना गरेका हुन् ।
गत सोमबार साँझ लद्दाखको गलवान क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त घटनाका सम्बन्धमा छलफल गर्न मोदीले नै शुक्रवार सर्वदलीय बैठक डाकेका थिए । बैठकमा मोदीले ‘पूर्वी लद्दाखको घटनाका सम्बन्धमा रक्षामन्त्री र विदेश मन्त्रीको कुरा सुने र प्रस्तुति पनि हेरेँ । न त उनीहरुले हाम्रो सीमामा पसेका छन् न त हाम्रो कुनै चौकी कसैले कब्जामा लिइएको छ,’ भनेका थिए । सोहि भनाईको चौतर्फी विरोध र आलोचना भएपछि भारत सरकारले मोदीको बचाउ गर्दै भनाइलाई तोडमोड गरिएको दाबी गरेको छ ।
मोदीले राखेको भनाइप्रति विपक्षी दलदेखि पूर्वकूटनीतिज्ञसम्मले विरोध र आश्चर्य प्रकट गरेका थिए । उनीहरुले मोदीको उक्त भनाइ सरकारको यसअघिको अडानको खिलाफ भएको आरोप समेत लगाएका छन् ।
गत अप्रिलदेखि भारतीय पक्षले एकतर्फी रूपमा निरन्तर सडक, पुल र अन्य पूर्वाधार बनाउँदै आएको र चीनले धेरैपटक विरोध गरे पनि भारतीय पक्षले एलएसीमा थप अगाडि बढेको र परिस्थितिलाई भड्काउने काम गरेको चिनको आरोप छ । चिनियाँ पक्षबाट आएको पछिल्लो दाबीले मोदी सरकारलाई थप अप्ठ्यारोमा पा¥यो । त्यसपछि सरकारले चिनियाँ दाबीको सम्बन्धमा प्रस्ट पार्नुपर्ने माग हुन थालेको थियो । विपक्षीहरुले मोदी सरकारमाथि गलवान उपत्यकामा चीनलाई जिम्मा दिएको समेत आरोप लगाउन थालेका छन् ।
चौतर्फी रूपमा विरोध सुरु भएपछि शनिबार प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकाल्दै सैनिकहरुको मनोबल गिराउने नियतले मोदीको भनाइको तोडमोड गरिएको आरोप लगाएको छ ।
त्यस्तै यसअघि रक्षामन्त्री राजनाथ सिंहले पनि घटनाका सम्बन्धमा गरेको ट्वीटलाई लिएर आलोचना खेप्नुपरेको थियो ।
क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्