सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन

काठमाडौं –
आइतबार जंगी अड्डामा आयोजित दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ समापन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो समय भारतले अतिक्रमण गरेको नेपाली भूभागलाई समेटेर सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा सेनालाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
उनले राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरुमा पार्ने प्रतिकुल प्रभाव र असरहरुको सुक्ष्म अध्ययन विश्लेषण गर्दै रणनीति र कार्ययोजना निर्माण गर्न समेत निर्देशन दिएका छन् ।
गएको हप्ता प्रधानसेनापति थापा भारतले अतिक्रमण गरेको कालापानी नजिकै दार्चुलाको छाङरुमा पुगेर निरीक्षण गरेर फर्किएका थिए । पछिल्लो समय भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला सेनालाई पनि सीमामा खटाउने सरकारको तयारी छ । थापाले राष्ट्रिय स्वार्थ प्राप्तिको लागि अविचलित भएर कर्तव्यपथमा लाग्न सेनालाई निर्देशन दिएका छन् ।
नियमित रुपमा आयोजना हुने समन्वयात्मक बैठकमा जंगी अड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य प्रगति विवरण र समिक्षा, कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाव लगायत अन्य परिस्थितीजन्य विषयहरु सम्बन्धमा प्रस्तुतिकरण र छलफल भएको सेनाले जनाएको छ ।
क्याटेगोरी : समाचार, सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्