नेपाल–भारत र चीन सीमाको १ नम्बर पिल्लरमा पुग्यो बीओपीको टोली

काठमाडौं ।
नेपाल–भारत र चीन सीमाको १ नम्बर पिल्लरमा सरकारले दार्चुलाको छाङरुमा भर्खरै राखेको बोडर आउट पोष्ट (बीओपी) को टोली पुगेर फर्किएको छ ।
बीओपी स्थापनापछि आसपासमा मात्रै गस्ती गरिरहेको सशस्त्र प्रहरी हालै १ नम्बर स्तम्भसम्म पुगेको हो ।
बीओपीका प्रमुख प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको २५ जनाको टोली गस्ती १ नम्बर स्तम्भसम्म पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डीएसपी डम्बरबहादुर विष्टले बताएका छन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूमि मिचेर भारतले सडक बनाएपछि जनस्तरबाट तीब्र विरोध भएपछि सरकारले छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको थियो । त्यसयता पहिलो पटक १ नम्बर पिल्लरसम्म फौज पुगेको सशस्त्र प्रहरीका अधिकृतहरुको दाबी छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले पनि बुधबार त्यस क्षेत्रको भ्रमण गरेका थिए ।
क्याटेगोरी : समाचार, सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्