नेपालको ७७ वटै जिल्लामा फैलियो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा थपिए ५५४ जना

काठमाडौं ।
रसुवामा पहिलो पटक ९ जनामा कोरोना भाइरसको संक्रमण फेला परे सँगै नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले रसुवामा पनि कोरोना संक्रमण देखिएको जानकारी दिएसँगै देशभरका सबै जिल्लामा कोरोना संक्रमण फेला परेको पुष्टि भएको हो ।
रसुवामा पहिलो पल्ट ८ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको हो । रसुवाका ९ जना समेत पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म देशभर १२ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ हजार ८ सय ३४ जना भने उपचारपछि घर फर्किएका छन् ।
संक्रमित मध्ये २८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६०६ नमुनाको पीसीआर टेष्ट भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको तथ्यांकअनुसार ६ असारमा सबैभन्दा धेरै ७४१६ नमुना परीक्षण भएको थियो । त्यसयता क्रमशः घटेर शनिबार ४६०६ मा आइपुगेको छ ।
हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट भएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्