यस बर्षको राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार तनहुँका पत्रकार प्रताप रानामगरलाई

पोखरा
आगामी साउन १ गते प्रदान गर्न लागिएको “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७” तनहुँका पत्रकार प्रताप रानामगरलाई प्रदान गरिने भएको छ ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ, कास्कीद्वारा सञ्चालित “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७” तनहुँका पत्रकार प्रताप रानामगरलाई प्रदान गरिने भएको हो ।
नेपाल मगर संघका केन्द्रीय का.वा. अध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठित पुरस्कार प्रतिभा छनौट समितिले पत्रकार रानामगरलाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो । नेपाल मगर पत्रकार संघ, कास्की शाखाको गत सोमबार सम्पन्न बैठकले पत्रकार रानामगरलाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ ।
कान्तिपुर टेलिभिजनमा आवद्ध पत्रकार, नेपाल मगर पत्रकार संघ गण्डकी प्रदेश संयोजक, नेपाल पत्रकार महासंघ, तनहुँ शाखाको कोषाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाका अध्यक्ष समेत रहेका पत्रकार राना मगरलाई राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्र श्रीसमगर, नेपाल मगर पत्रकार संघ, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगर र सदस्य मीना थापामगर रहेको छनौट समितिले पुरस्कृत गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशको लोकप्रिय मौलिक कौरा नाचको संरक्षण र प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान दिने पत्रकारलाई प्रदान गरिने यो पुरस्कारबाट यसअघि, नवलपरासीकी पत्रकार कमला रानामगर र कास्कीका पत्रकार तिलकप्रसाद पुनमगर पुरस्कृत भइसकेका छन् ।
सो पुरस्कारको राशि १० हजार रुपैयाँ नगद र ताम्रपत्र रहेको छ ।
क्याटेगोरी : कला र मनोरञ्जन, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्