पत्रकार संगठनहरुद्धारा पेशागत सुरक्षाका लागि सशक्त आन्दोलनको चेतावनी

काठमाडौं ।
मुलुकमा क्रियाशील विभिन्न ११ पत्रकार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पेशागत सुरक्षाका लागि सशक्त आन्दोलनको चेतावनी दिएका छन् ।
प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, प्रेस युनियन नेपालका अध्यक्ष बद्री सिग्देल, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष उदय जीएम, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसी, प्रेस नेपालका अध्यक्ष केशवराज अर्याल, जनपत्रकार संगठन नेपालका सचिव सिर्जना तिमिल्सिना, प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी र मिडिया सेन्टरका अध्यक्ष गोपाल पौड्यालले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।
थै, महामारीका कारण बन्द हुन पुगेका साना तथा स्वरोजगारमुखी मिडिया तथा रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारहरुको लागि विशेष आवधिक राहत प्याकेजको व्यवस्था गर्न पनि सरकारसँग गरेका छन् ।
विज्ञप्तिको पूर्णपाठ
कोभिड– १९ (कोरोना भाइरस)को कारण देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार÷सञ्चारकर्मीहरुलाई पेशाबाटै निष्काशन गर्ने, बेतलवी विदा बस्न दवाव दिने, राजीनामा दिन बाध्य पार्नेलगायतका कार्यप्रति हामीहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
पछिल्लो समयमा श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अल्टिमेटमसहित सञ्चारगृहहरुमा पत्राचार गर्ने तथा सरोकारवाला संगठनहरुसँग बृहत छलफल गरी दवावमूलक कार्यक्रममार्फत श्रमजीवीको पेशागत सुरक्षाका लागि गरिरहेको पहललाई सकारात्मकरुपमा लिएका छौं । र, महासंघकै नेतृत्वमा थप दबाबमूलक कार्यक्रमको घोषणा गरी श्रमजीवी पत्रकार साथीहरुको पेशागत सुरक्षाको सुनिश्चिताका लागि ठोस पहल गर्न सहयोग पुग्ने ठहर गरी हामीले यो संयुक्त विज्ञप्ति जारी गरेका छौं । विभिन्न बहानामा निष्काशन, राजीनामाको दवाव र काम गरेको पूरा तलव नदिने मिडिया व्यवस्थापकहरुको रवैया हामीलाई कुनै हालतमा स्वीकार्य छैन ।
अतः दर्जनभन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकहरुले श्रमजीवी पत्रकार ऐन विपरीतका कदमहरु तत्काल बन्द गरी सहजतापूर्वक श्रमजीवीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न हामी जोडदार माग गर्दछौं । र, नेपाल सरकार सञ्चार मन्त्रालयलगायत सबै सम्बन्धित निकायहरुलाई कानुनसम्मत ढंगले समस्याको समाधानका लागि पहल गर्न हार्दिक आग्रह समेत गर्दछौं ।
साथै, महामारीका कारण बन्द हुन पुगेका साना तथा स्वरोजगारमुखी मिडिया तथा रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारहरुको लागि ‘विशेष आवधिक राहत प्याकेज’को व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गर्दछौं ।
अन्यथा श्रमजीवीको श्रमको उचित सम्मान र पेशागत सुरक्षाका लागि सशक्त आन्दोलनमार्फत दवाव दिन हामी बाध्य हुनेछौं । त्यसबाट सिर्जित परिस्थितिको जिम्मेबार स्वयं मिडिया मालिकहरु र सरोकारवाला निकाय नै हुने पनि यसै विज्ञप्तिमार्फत् स्पष्ट पार्न चाहन्छौं ।
१४ असार २०७७
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्