श्रम शोषण गर्ने सञ्चारगृह बन्द हुँदैमा जनता सूचनाको हकबाट बञ्चित हुदैँनन । -महासचिव, नेपाल पत्रकार महासंघ

काठमाडौं ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारको श्रम शोषण गर्ने सञ्चारगृह बन्द हुँदैमा जनता सूचनाको हकबाट बञ्चित नहुने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंको बबरमहलमा आयोजना गरेको श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन लाई सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको हो । विष्टले पत्रकारको हितका लागि सबै पक्षलाई जानकारी गराएर मात्रै आन्दोलनमा आएको र सहज ढंगबाट श्रमजीवी पत्रकारको अधिकार स्थापित नभए महासंघ टुलु टुलु हेरेर नबस्ने बताउनुभयो ।
कोरोनाभाइरस माहामारीको कारण देखाउँदै पेशाबाट निस्काशन गरिएका तथा पारिश्रमिकबाट बञ्चित श्रमजिवी पत्रकारहरुको हितको लागि भन्दै गरिएको प्रदर्शनलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोनाका कारण देखाउदै मिडियाका मालिकहरुले पत्रकारिता गरी बाँच्न पाउने पत्रकारको अधिकार खोसेको बताउनुभयो । यो अवस्थामा पत्रकारहरुलाई पेशागत संकट परेको भन्दै आचार्यले पत्रकारलाई जागिरबाट निष्काशन गर्ने, बेतलबी बिदामा राख्ने गरेकोले ती समस्या समाधानका लागि महासंघ भोलिदेखि नै त्यस्ता सञ्चारगृहमा गई अनुगमन गरी निष्कासित पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलन गर्ने बताउनुभयो ।
त्यस्तै, महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडियाका मालिकहरुले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताउनु भयो ।
प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिंग्देल, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित, प्रेस नेपालका अध्यक्ष केशव अर्याल, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडी, क्रान्तिकारी संगठन नेपालका प्रतिनिधि धनन्जय बुढा, प्रगतिशील पत्रकार संघ नेपालका पूर्वअध्यक्ष नारायण शर्मा, कान्तिपुर संयुक्त ट्रेड यूनियनका प्रतिनिधि अर्जुन पाठक, जनपत्रकार संगठनकी सचिव सिर्जना तिम्सिना लगायतले प्रदर्शनमा ऐक्यवद्धता जनाउँदै संवोधन गरेका थिए ।
प्रदर्शनलाई सम्वोधन गर्दै उनीहरुले श्रमजिवी पत्रकारहरुलाई मिडियाका मालिकहरुले नाफा कमाउँदा महल बनाउने र घाटाको भागिदार श्रमजीवी पत्रकार हुनुपर्ने व्यवस्थाको खारेजी हुनुपर्ने र कोरोनाको वाहानामा पेशाबाटै बञ्चित गरिनु र श्रमको उचित मुल्य नदिनु अत्यन्तै दुखद भएको बताएका छन् ।
साथै, अब श्रमजीवी पत्रकारहरुको हितको लागि सञ्चार गृह मात्र नभई मिडियाका मालिकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मिडिया मालिकहरुले पत्रकारलाई प्रयोग गर्दै फाइदा उठाउने र संकटका बेला पत्रकारको घाउमा नुन छर्ने काम इतिहासदेखि नै भइरहेको भन्दै त्यसका बिरुद्ध कडा आन्दोलनमा उत्रने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्