Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

आगामी ४ दिन भारी बर्षा हुन सक्ने सम्भावना, उच्च सर्तकता अपनाउन अनुरोध


काठमाडौं ।
आगामी ४ दिन यस वर्षको मनसुन सक्रिय भएपछिको अहिलेसम्म कै बढी पानी पर्ने अनुमान गरिएको छ ।

मुलुकका विभिन्न चार वटा प्रदेशमा असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठले जानकारी दिएका छन् ।

मनसुन सक्रिय भएपछि अहिलेसम्म औसतभन्दा धेरै पानी परिसकेको छ । त्यसैले तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गर्दै आवश्यक पुर्वतयारी थालिएको बताएको छ ।

यसवर्ष मनसुनका समयमा औसत वर्षा हुने मौसम विभागले बताएपनि औसत वर्षा पनि कुनै समय कम पानी पर्ने र कुनै समय भारी वर्षा हुनसक्ने भएकाले ठाउँठाउँमा बाढी, डुबान र पहिराको जोखिम बनाइसकेको छ ।

पहाडी क्षेत्रमा साना तथा खहरे खोला र नदीनालाको बहाव बढ्न थालेको र आगामी ४ दिन खतराको तहसम्म बढ्ने अनुमान छ । यसतर्फ सचेत भएर चनाखो हुनसमेत प्राधिकरणले आज एक सूचना जारी गरी अनुरोध गरेको छ ।

भारी वर्षाबाट हुने सम्भावित जोखिमसमेतलाई आँकलन गरी यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ को भाग (एक र दुई) प्रकाशित भइसकेको छ । उक्त कार्य योजनानुसार विपद्का समयमा सङ्घीय मन्त्रालय, प्रदेश र स्थानीय सरकार राजनीतिक दल तथा गैरसरकारी संस्था एजेन्सी, विकास साझेदार संस्था तथा निजी क्षेत्रलगायतको समन्वयमा विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारी गरिएको छ ।

प्राधिकरणको अभिलेखअनुसार वैशाखदेखि अहिलेसम्म कूल ८०४ वटा विपद् घटनामा ११४ जनाको ज्यान गइसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्