सिन्धुपाल्चोकमा बाढीपहिरोले झण्डै २ दर्जन घर बगायो, २२ जना बेपत्ता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा बाढी आउँदा ठुलो धनजनको क्षति पुर्याएको छ । बाढिले घर बगाउँदा २२ जना बेपत्ता भएका छन् भने २ जनाको शव भेटिएको छ ।त्यस्तै २ जना घाइते भएका छन् ।
बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा स्थानिय खहरे खोलामा आएको बाढीले १८ जना बेपत्ता भएका नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिएका छन् । बजारमा रहेको २०/२२ वटा घरमध्ये ३ र४ वटाबाहेक अरु पहिरोले लगेको पनि शेर्पाले जानकारी दिएका छन् ।
बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएकोे र अरनिको राजमार्ग पनि भत्काएकोले अहिले जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
यस्तै भोटेकोशी गाउँपालिकामा २ जना बेपत्ता भएका छन् । बर्कुटे भन्ने ठाउँमा स्थानीय खहरे खोलामा बाढी आउँदा २ वटा घर बगाएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिएका छन् । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भाग्न सफल भएपनि अर्को घरका ४ जना बेपत्ता भएका र २ जना बालबालिका घाइते भएका छन् ।
त्यस्तै हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार बाह्रबिसेमा राति साढे १२ बजे भोटेकोशी नदीको जलसतह ०.५ मिटर घटेर १२ः५० बजे एक्कासी १.१ मिटर बढेको थियो ।
माथिल्लो तटीय क्षेत्रमा भोटेकोशी केहीबेर थुनिएको र बाँध फुटेर आकस्मिक बहाव आएको हुन सक्ने अनुमान बाढी सूचना केन्द्रले गरेको छ । केन्द्रले भोटेकोशी–सुनकोशी नदी तटीय क्षेत्रमा विहान १० बजेसम्मै सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटासहितको टोली हेलिकप्टरमार्फत काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै छ । साथै घटनाको उद्धार कार्य भैराखेको र घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्