Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

म्याग्दी पहिरोमा मृतकको संख्या २७ पुग्यो, ४ अझै बेपत्ता


काठमाडौं 
शुक्रबार म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले पहिरोले पुरिएको अवस्थामा उनीहरुको शव फेला पारेको हो । ४ जना भने अझै हराइरहेका छन् ।
घाइते १२ जनाको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी ६ मराङका तुबहादुर क्षेत्री, सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली छन् ।

यस्तै १८ वर्षका प्रकाश के.सी., अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली, अन्दाजी ७ वर्षकी करिश्मा, अन्दाजी ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनकी छोरी ४ वर्षकी दिप्ती र १ वर्षका छोरा दिवान जुग्जाली रहेका छन् ।

प्रहरीका अनुसार धवलागिरी ६, कल्लेरीका ५१ वर्षीया जमिना केसी र १६ वर्षा सविन पुन हराइरहेका छन् । हराएका भनिएका मराङ रिखका अन्दाजी ४० वर्षका धनबहादुर जुग्जाली, अन्दाजी १५ वर्षकी रितु कुमारी र अन्दाजी ५ वर्षका अर्जुन जुग्जाली भने सम्पर्कमा आएका छन् ।

यस्तै मालिका गाउँपालिकामा पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । प्राप्त विवरणअनुसार मालिका ७ विमका ४० वर्षका विष्णु पौडेल, ४ वर्षकी इच्छा पौडेलको मृत्यु भएको छ । यस्तै गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, वीरबहादुर नेपाली र उनका तीन महिनाकी छोरी निशाको मृत्यु भएको छ । यस्तै रघुगंगा गाउँपालिका ६ ठाडाखानीका अन्दाजी ५० वर्षका नलिमान छन्त्यालको पनि शव भेटिएको छ । प्रहरीका अनुसार १२ जनालाई उद्दार गरिएको छ ।

बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् । पहिरोमा परेर घाइते भएका मराङका दुई र बिमका एक जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरिएको छ । मराङकी २२ वर्षीया मञ्जिता श्रीपाली र सात वर्षीय सफल श्रीपालीलाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । बिमका ४० वर्षीय पूर्ण परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्