Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

पत्रकारिता पुरस्कारद्वारा प्रताप राना मगर सम्मानित (फोटो फिचर)


कास्की संवाददाता, साझाहव 

यस वर्षको “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७” बाट तनहुँका पत्रकार प्रताप राना मगर सम्मानित हुनुभएको छ ।

राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित सो पुरस्कार नेपाल मगर पत्रकार संघ, कास्कीले बिहीबार आयोजना गरेको कार्यक्रममा पत्रकार राना मगरलाई प्रदान गरिएको हो । पुरस्कारको राशि १० हजार रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ ।

कान्तिपुर टेलिभिजनका तनहुँ सम्वाददाता रहेका रानामगर नेपाल मगर पत्रकार संघ, गण्डकी प्रदेशको संयोजक, नेपाल पत्रकार महासंघ, तनहुँ शाखाको कोषाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाको अध्यक्ष समेत रहनुभएको छ ।

पुरस्कृत राना मगरले, आफुले प्राप्त गरेको पुरस्कारले मगर समुदायको मौलिक संस्कृति र नेपाली संस्कृतिको क्षेत्रमा कलम चलाउन थप हौसला र जिम्मेवारी प्रदान गरेको बताउनु भयो ।

पुरस्कारबाट पत्रकार राना मगरलाई सम्मान गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पत्रकारले निष्पक्ष भएर कलम चलाउनु पर्नेमा जोड दिनुभयो । सम्बन्धित निकायलाई खबरदारी गर्न पत्रकारको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले तथ्यगत कुरामा ध्यान दिन पत्रकारलाई आग्रह गर्नु भयो । मनोगत र मनगढन्ते कुराले भ्रम सिंर्जना गर्ने भन्दै उहाँले तथ्यमा आधारित रहेर कलम चलाउन सुझाव दिनुभयो । एक अर्को प्रसंगमा  शेरचनले देशको सांस्कृतिक विविधतालाई सही मूल्यांकन गर्न नसक्दा मौलिक संस्कृति निरुत्साहित हुने भन्दै संस्कृति संरक्षण गर्ने कुरालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रमुख राजनीतिक सल्लाहकार गोविन्द नेपालीले पुरस्कृत रानालाई बधाई दिदैँ अहिलेको अवस्थामा कोरोना भाइरसको महामारीले जनजीवन त्रसित बनेको भन्दै सतर्क र सचेत भएर दैनिक जीवनयापन सञ्चालन गर्नु पर्ने आवश्यकता समेत औंल्याउनु भयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका इञ्चार्ज हुम गुरुङले आदिवासी जनजातिका संस्कृतिलाई राज्यले अझै सम्मान गर्न नसकेको भन्दै पत्रकार रानामगरको सम्मानले सम्पूर्ण पत्रकारिता जगत् सम्मानित भएको महसुस गरेको उल्लेख गर्नु भयो ।

त्यस्तै, प्रतिभा छनौट समितिका संयोजक एवं नेपाल मगर पत्रकार संघका केन्द्रीय कार्यवाहक अध्यक्ष एमबी आस्था मगरले आफूहरूले उपयुक्त पात्र छनौट गरेको भन्दै आगामी दिनमा समेत पत्रकार राना मगरबाट निरन्तर योगदानको अपेक्षा गरिएको बताउनु भयो । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशकी उपाध्यक्ष शान्ति गुरुङले कौरा नाचको मौलिकतालाई बचाउनु पर्ने उल्लेख गर्दै मौलिक संस्कृति बिस्तारै आधुनिकतिर ढल्किँदै जान थालेको बताउनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशका अध्यक्ष खेम पुन मगर, नेपाल मगर संघ, गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त थापा मगर, नेपाल पत्रकार महासंघ, कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालका अध्यक्ष हर्क आले मगर, पुरस्कृत व्यक्तित्व राना मगर लगायतले मौलिक कौरा संस्कृति र पत्रकारिताका बारेमा बोल्नुभएको थियो ।

पुरस्कृत व्यक्तित्व रानामगरका बारेमा प्रतिभा छनौट समितिकी सदस्य मीना थापामगरले बोल्नुभएको थियो । नेपाल मगर पत्रकार संघ, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितान मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव सुरज थापा मगर र राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालकी उपाध्यक्ष तारामाया थापा मगरले स्वागत गर्नुभएको थियो ।

यस पुरस्कारबाट यसअघि नवलपुरकी कमला रानामगर र कास्कीका तिलकप्रसाद पुनमगर पुरस्कृत भइसकेका छन् । पत्रकारिता मार्फत् गण्डकी प्रदेशकै मौलिक संस्कृतिका रुपमा रहेको कौरा नाचको प्रवर्द्धनमा योगदान पुर्याउने एक जना मगर पत्रकारलाई प्रत्येक वर्ष पुरस्कारबाट पुरस्कृत गरिँदै आएको छ ।


क्याटेगोरी : कला र मनोरञ्जन, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्