Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

कोरोना प्रभावित क्षेत्रका ऋणीहरूलाई ऋण तिर्ने अवधि २ वर्षसम्म थप


काठमाडौं ।

राष्ट्र बैङ्कले कोरोना प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको छ ।

कोरोनाले ब्यापार व्यवसाय ठप्प हुँदा आम्दानी गुमेपछि ऋण तिर्न नसकेका ऋणीलाई राष्ट्र बैङ्कले राहत दिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७ र ७८ को मौद्रिक नीति सार्वजनिक गर्दैे प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको जानकारी दिएका हुन् ।

कोभिड(१९ को कारण ग्रेस अवधिभित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न र सञ्चालन हुन नसकेको अवस्थामा पर्यटकको लागि खोलिएका स्तरीय होटलको हकमा अधिकतम २ वर्ष, अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा १ वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ९ महिना र निम्न प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ६ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने व्यवस्था मिलाइने गभर्नर अधिकारीले जानकारी दिएका छन् ।

यसैगरी, २०७७ असार मसान्तसम्म असुल हुन नसकेको लघुवित्त वित्तीय संस्थाबाट प्रवाहित कर्जाको किस्ता ऋणीको आवश्यकता र व्यवसाय सुरु हुन लाग्ने समय मूल्याङ्कन गरी बढीमा ६ महिनासम्म भाका सार्न सक्ने व्यवस्था मिलाइने अधिकारीले जानकारी दिएका छन् ।

यसैगरी, निर्माणाधीन पूर्वाधार आयोजनामा प्रवाहित कर्जाको ग्रेस अवधिमा ब्याज पुँजीकरण गर्न राष्ट्र बैङ्कबाट पूर्वस्वीकृति पाइसकेको कर्जाको हकमा २०७७ पुस मसान्तसम्म पुँजीकरण गर्न सकिने व्यवस्था मिलाइने छ ।

२०७६ पुस मसान्तमा नियमित र असल वर्गमा रहेका कर्जालाई कोभिड(१९ को प्रभावको कारणले कमसल हुन नपरोस् भन्ने अभिप्रायले कर्जा वर्गीकरण सम्बन्धमा विशेष व्यवस्था मिलाइने नीतिमा उल्लेख छ । यस अन्तर्गत २०७६ पुस मसान्तमा असल वर्गमा रहेका कर्जालाई २०७७ असार मसान्तमा समेत असल वर्गमा नै वर्गीकरण गर्न सकिने छ ।

यसरी असल वर्गमा रहे तापनि २०७७ असार मसान्तसम्मको साँवा र ब्याज असुल हुन नसकेको अवस्थामा त्यस्ता कर्जाको लागि आर्थिक वर्ष २०७६र७७ को हिसाबमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने छ ।

त्यस्तै, उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो । उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।

विभिन्न निकायले कोरोना लकडाउनका कारण प्रभावित बन्दा ऋण तिर्ने समयावधि पर धकेल्न माग गर्दै आएका थिए ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्