सोमबार देखि शुक्रबार सम्म भारी बर्षाको सम्भावना, जोखियुक्त ठाउँमा उच्च सर्तकता अपनाउन आग्रह

काठमाडौं ।
सोमबारबाट शुक्रबारसम्म मनसुन सक्रिय भई केहि जिल्लाहरुमा भारी बर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको छ ।
चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रूपन्देही लगायतका जिल्लामा र ती जिल्ला आसपासका क्षेत्रहरुमा भारी वर्षा भएको जनाएको छ । अहिले कास्कीको लुम्ले र स्याङ्जास्थित वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना समेत रहेको जनाएको छ । त्यसैले लम्जुङ, पर्वत र आसपासको जिल्ला भई बहने मोदीखोला लगायत साना नदीमा आकस्मिक बहाब हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै, भारी वर्षाका कारण बुटवलको तिनाउ नदीको बाढीले सोमबार बिहान ४ बजे सतर्कताको तह पार गरेको थियो । बिहान ७ बजेको मापनमा भने सतर्कताको तहभन्दा तल देखिएको छ । यद्यपि बाढी पूर्वानुमान महाशाखाले तिनाउ र कञ्चनखोलाको तटीय क्षेत्र आसपासमा बिहान १० बजेसम्म सतर्क रहन आग्रह गरेको छ ।
आजबाट मनसुन पुनः सक्रिय भएकाले केही दिनसम्म झरी पर्ने पूर्वानुमान गरिएको छ । मनसुनी रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान छ ।
भारी बर्षाको सम्भावना रहेका ती जिल्लाका साना खोलाहरुमा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार र मंगलबारको तुलनामा बुधबार अझ बढी वर्षा हुने छ । बुधबार बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा ‘धेरै भारी वर्षा’ हुने मौसम पूर्वानुमान बुलेटिनले उल्लेख गरेको छ ।
मनसुन सुरु भएपछि बाढि, पहिरो, डुवान जस्ता मनसुनी विपद्का कारण ठुलो धनजनको क्षति भई सकेकोले उच्च सर्तकता अपनाउनु पर्ने देखिन्छ ।
क्याटेगोरी : समाचार, सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्