Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

पाटे बाघको सङ्ख्या २०२२ सम्म १ सय ५० पुर्याउने, २९ जुलाई, राष्ट्रपतिद्धारा शुभकामना


काठमाण्डौ

आज २९ जुलाई अन्तराष्ट्रिय बाघ दिवस बाघको संरक्षणका लागि विभिन्न कार्यक्रम गरि मनाइदैँछ ।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको भन्दै सराहना गरेकी छन् ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुसार नेपालमा पनि यो दिवस मनाउने गरिन्छ । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत यो दिवस बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने अपेक्षासमेत गरेकी छन् ।

बाघ संरक्षणसम्बन्धी समुदायस्तरदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका अन्तरसरकारी सञ्जाल तथा मञ्चहरूमा नेपाल सरकार क्रियाशील रहेकोमा खुशी व्यक्त गर्दै जलवायु परिवर्तनले पारिरहेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचकको रूपमा रहेको बाघलाई बचाइराख्ने दायित्व सबैकोे भएको शुभकामना सन्देशमा उल्लेख छ ।

बाघ संरक्षणका लागि घाँसेमैदान र पानीका स्रोतहरूको व्यवस्थापन, नियमितरूपमा गस्ती, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, चेतनामूलक कार्यक्रम र आवधिकरूपमा यसको सङ्ख्या यकिन तथा अनुगमनलगायतका कार्यक्रम सञ्चालन गरेकाले बाघ संरक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बाघलगायतका वन्यजन्तुको आवागमन सुनिश्चित हुने गरी पूर्वाधार निर्माण गर्ने र वन्यजन्तुलाई पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् । बाघ अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकबाट राष्ट्रलाई प्राप्त हुनसक्ने आम्दानीलाई अझ वृद्धि गर्न पर्यापर्यटनका गतिविधिहरू प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ ।

बाघ संरक्षणको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय र मातहतका निकाय, सुरक्षा निकाय, स्थानीय तह, स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिँदै राष्ट्रपति भण्डारीले बाघ संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिएकी छन् ।

नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यको नजिक पुगेको छ । सन् २०१० मा रुसमा भएको बाघ पाइने देशको सम्मेलनमा नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएका थिए ।

त्यही प्रतिवद्धता अनुसार नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या १ सय ५० पुर्याउनुपर्नेछ । सन् २०१० मा नेपालसँग १ सय २१ वटा बाघ रहेकामा अहिले नेपालमा २ सय ३५ वटा पुगेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव(बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको सरकारले जनाएको छ ।

नेपाल, भारत, बंगलादेश र भुटान बाघ दोब्बर बनाउने अभियानमा लक्ष्य उन्मुख छन् । तर चीन, लाओस, म्यानमार, कम्बोडिया, भियतनामलगायतका देशमा भने बाघको सङ्ख्या बढ्न सकेको छैन ।

विश्वमा कम्तीमा ४ हजार पाटेबाघ रहेको अनुमान छ । अध्ययनअनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्