बिहिबारदेखि सवारी साधनमा जोरविजोर प्रणाली लागु, उल्लङ्घन गरे १ महिना सम्मको कैद सजाय हुन सक्ने

काठमाण्डौ
पछिल्लो समय कोरोना भाइरस कोभिड १९ को संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले फेरि सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ ।
गत चैत ११ देखि लागू गरेको लकडाउन साउन ६ गते मध्यरातदेखि हटेपछि खारेज भएको सवारीसाधनमा जोरबिजोर प्रणाली काठमाडौं उपत्यका र कोरोनाका २ सयभन्दा धेरै सक्रिय केस रहेका जिल्लामा बिहीबारदेखि पुन लागु भएको हो ।
गृह मन्त्रालयले सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली पुन लागु गरिएको हो साथै, कोरोना संक्रमण धेरै देखिएका जिल्ला तथा काठमाडौं उपत्यकामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा समेत रोक लगाउने निर्णय गरेको छ । यो नियम लागु हुन्जेल जोर गते जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधनमात्र चलाउन पाइने छ । त्यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन समेत निषेध गरिएको छ ।
लकडाउन हटेसँगै काठमाडौं उपत्यकामा दिनको ५० देखि ६० जनाका दरले साथै देशैभर कोरोना फेरि फैलिन थालेपछि सरकारले सडकको भीड कम गर्ने रणनीति अनुसार फेरि जोरबिजोर नियम ल्याएको हो ।
सरकारले सवारीसाधनमा जारी गरेको जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेसँगै ट्राफिक प्रहरीले समेत सक्रियता बढाएको छ । काठमाण्डौ महानगरीय ट्राफिक महाशाखाका एसपी वामदेव गौतमका अनुसार उपत्यकाभित्र जोर बिजोर उल्लङ्घन गर्ने सवारी साधनलाई साँझ ८ वजेसम्म होल्ड गरिनेछ । तर अत्यावश्यक कामका लागि निस्किएका सवारीसाधनलाई भने छाडिनेछ ।
त्यस्तै, काठमाडौं उपत्यकाका २४ स्थानमा चेकप्वाइन्ट राखेर जोर बिजोर सवारीको अनुमगनमा ट्राफिक प्रहरी सक्रिय रहेको छ ।
जोरबिजोर प्रणाली पालना नगर्नेलाई सवारी नियम उल्लंघन वा संक्रामक रोग नियन्त्रण ऐनले वर्जित गरेका प्रावधानको कसुर मध्ये जुनसुकैमा कारबाही हुनसक्ने छ ।
संक्रामक रोग ऐनविपरीत कार्य गरे १ सय रुपैयाँसम्म जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुनसक्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्