Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

आगामी ३ दिन केहि ठाउँमा भारी बर्षाको सम्भावना, जोखिम क्षेत्रमा सर्तकता अपनाउन आग्रह


काठमाडौं ।

मनसुनी न्युन चापीय रेखा हाल पश्चिमी नेपाल नजिक दक्षिण तर्फ रहेकोले अबको ३ दिन पश्चिमका केही ठाउँमा भारी बर्षा हुने मौसमविद्ले बताएका छन् ।

पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिम नजिकै रहेकाले मध्य र पूर्वको तुलनाका पश्चिमका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार हाल देशभर समान्यतया बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ६ बजे मापन गरिएको रेकर्ड अनुसार धनकुटाको तमोर नदीमा जलसतह सतर्कता बिन्दुभन्दा माथी पुगेको छ । जल सतह बढ्ने क्रम अझै जारी छ । तसर्थ तमोर मुलघाट देखि सप्तकोशी दोभानसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

त्यसैगरी आज विहान ५ बजे मापन गरीएको रेकर्ड अनुसार पछिल्लो ६ घण्टा बबई नदीजलाधारको गुलरिया, रानीजरूवा, रम्वापुर लगायत बर्दियाका धेरैजसो स्थानहरुमा भारी बर्षा भएको र थप हुने सम्भावना रहेकाले त्यस आसपासको डुवान भइरहने होचा स्थानमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

त्यसैगरी आज विहान ४ः३० बजे मापन भएको तथ्यांक अनुसार गोरखाको बारपाक, आरूघाट, विरेनचोक लगायत धेरैजसो स्थानहरुमा पछिल्लो ३ घण्टा भारी वर्षा भएकोले त्यस स्थान तथा आसपासका क्षेत्र भई बहने साना खहरे खोलामा एक्कासी बाढी आउन सक्ने, दरौंदी, बुढीगण्डकी नदीमा जलसतह बढ्ने, कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभर सामान्यतया बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।्


क्याटेगोरी : प्रविधि, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्