रहनु भएन अब, राष्ट्रकवि माधव प्रसाद घिमिरे, बुधबार अन्त्येष्टी गरिने

काठमाण्डौ
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ ।
घिमिरे दुई सातादेखि गम्भीर बिरामी भएको र उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो। उनी ब्रोन्काइटिस, रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित थिए। राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।
विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मनु भएका घिमिरेद्धारा नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसंग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका चर्चित कृतिहरु रचना गरेका छन् ।
घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।
उनले राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ’मनको बाँध’ चलचित्रको ’फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ’आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो । घिमिरेलाई ८५ वर्षको उमेरमा राष्ट्रकविको उपाधि दिइएको थियो ।
त्यस्तै, मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई विसं २०७४ सालमा नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधिबाट सम्मानित गरेकी थिइन्। घिमिरेको बुधबार अन्त्येष्टी गरिनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्