बलात्कारपछि हत्या गरिएकी १२ बर्षीय बालिका सम्झना कामीको शव अझै उठेन, बुवालाई कोरोना संक्रमण पुष्टि

बझाङ
गत बुधबार बलात्कारपछि हत्या गरिएको मस्टा गाउँपालिका–२, बझाङकी १२ वर्षीया सम्झना कामीको परिवारले घटना भएको ६ दिन भइसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै उनको शव उठाउन मानेको छैन ।
बलात्कार र हत्यामा संलग्न भन्दै प्रहरीले राजेन्द्र बोहोराई पक्राउ गरेको छ तर अभियुक्तले अपराध स्वीकार नगरेको प्रहरीले जनाएकोले कतै अपराधीलाई उम्काउने खेल त होइन भन्ने शंका रहेकोले अपराधी यो नै हो भन्ने विश्वासिलो कुरा नआउन्जेल शव नउठाउने परिवारले अडान लिएका छन् ।
गत बुधबार सम्झनाको शव शिव मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको छ । घटनाको भोलिपल्ट असोज ८ गते पोस्टमार्टम गरेर सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ ।
घटनाको थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली बझाङ आएको छ । संघीय प्रहरी कार्यालयबाट पोलिग्राफ मेसिन र विज्ञसहितको टोली पनि आएको र मंगलबारसम्म बोहराको पोलिग्राफ परीक्षण गरिन प्रहरीले बताएको छ ।
यसैबीच, घटना थाहा पाउने वित्तिकै श्रीमती र २ छोराछोरी भारतमै छोडेर भारतको बेंग्लोरबाट आएका सम्झनाका बुवा विकास कामीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भावविह्वल अवस्थामा रहेका उनले छोरीको हत्यारालाई फाँसीको सजाय हुनुपर्ने बताएका छन् ।
क्याटेगोरी : अपराध, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्