आइपीएलमा हैदराबादको पहिलो जीत : सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो हार

एजेन्सी
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । मंगलबार राति अवुधावीमा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो ।
शेख जायद स्टेडियममा हैदराबादले १ सय ६३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउँदै मैदान उत्रेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।
दिल्लीका शिखर धवनले ३४ तथा ऋषब पन्तले ३२ रन बनाए । शिम्रन हिटमायरले २१ रन जोड्दा कप्तान श्रेयस आयरले १७ रन बनाए । कागिसो राबडा १५ रनमा अविजित रहे । दिल्लीलाई सस्तैमा समेट्न राशिद खानले ३ विकेट लिए । भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए । अब्दुल समाद १२ रनमा अविजित रहदा मनिस पाण्डे ३ रनमा आउट भए ।
दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २र२ विकेट लिएका थिए । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द रहेको दिल्लीको यो पहिलो हार हो । तर, तीन खेलमा सन्दीपले मौका पाएका छैनन् । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्