अनशनरत डा. गोविन्द केसी र सरकार दुवै तर्फबाट बार्ताका लागि टोली गठन

काठमाडौँ
सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेलगत्तै अनशनरत डा.गोविन्द केसीको तर्फबाट पनि वार्ता टोली गठन भएको छ ।
सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीको संयोजकत्वमा बनेको वार्ता टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् ।
अनशनको २४ औं दिन बुधबार मात्रै शिक्षा मन्त्रालयले वार्ता टोली गठन गरेको हो ।
ढिलै भए पनि सरकारले वार्ता गर्न समिति बनाउनुलाई आफुहरुलेले सकारात्मक रुपमा लिएको र संवादबाट समाधान खोज्ने प्रायस गरिने संयोजक डा. जीवन क्षेत्रीले बताएका छन् ।
सरकारको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा रहेका छन् । वार्ता टोली गठन भएसँगै शुक्रबार देखि नै वार्ता थाल्न निर्देशन दिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।
चिकित्सा क्षेत्रको सुधारको माग राख्दै डा. केसी अनशनमा छन् । शिक्षण अस्पतालमा रहेका केसीको स्वास्थ्य अवस्था खस्कँदै गएकोले चिकित्सकहरुले बताएका छन् । नेपाल चिकित्सक संघले डा. केसीको पक्षमा शुक्रबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्