खेलकुद प्रतिभा सम्मानबाट खेलाडी सहित खेलकर्मीलाई पुरस्कृत

काठमाडौं
युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा सम्मानबाट खेलाडी सहित खेलकर्मीलाई पुरस्कृत गरेको छ । ७ खेलाडी सहित विभिन्न विधाका खेलकर्मीलाई मंगलबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरेर मन्त्रालयले नगद सहित पुरस्कृत गरेको हो ।
खेलकुद प्रतिभा सम्मान पुरस्कारका लागि मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको थियो । सोही समितिले खेलाडी र खेलकर्मीको योगदानमा आधारित रहेर पुरस्कारका लागि छनोट गरेको हो ।
सम्मानित हुने खेलाडीमा शारीरिक सुगठनका समिर श्रेष्ठ, भारत्तोलनका बिकास थापा र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ ६६ हजार ६ सय ६६ रुपैयाँ सहित सम्मानित हुनु भएको छ । यस्तै, गल्फका सुवास तामाङ्ग, साईकिलिङकी लक्ष्मी मगर, तेक्वान्दोकी आयषा शाक्य र करातेका मण्डेकाजी श्रेष्ठ जनही १ लाख रुपैयाँ सहित सम्मानित हुनु भएको छ ।
सम्मानित हुने अधिकांश खेलाडीले १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा स्वर्ण जितेका थिए । यस्तै, मन्त्रालयले तेक्वान्दोका प्रशिक्षक नविन श्रेष्ठ र करातेका प्रशिक्षक कुशल श्रेष्ठलाई जनही ५० हजार सहित सम्मान गरेको छ।
यस्तै, जुडोका निर्णायक धर्मकुमार श्रेष्ठ, चिकित्सक ज्ञानेन्द्रबिक्रम शा र खेल संघबाट नेपाल गल्फ संघ समान १ लाख रुपैयाँले पुरस्कृत हुनु भएको छ ।
त्यस्तै, खेलकुद क्षेत्रलाई ठुलो आर्थिक सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै ब्यापारिक संस्था कतार एयरवेज र काठमाडौं महानगरले प्रसंशापत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद सम्मान पुरस्कारले नयाँ पुस्ता खेलकुदमा आकर्षित हुने बताउनु भएको छ ।
राखेप सदस्य सचिव रमेशकुमार सिलवालले वर्तमान सरकारले खेलकुदमा लगानी वृद्धि गरेको बताउनु भएको छ। साथै, उहाँले राष्ट्रले खेलाडीलाई गरेको सम्मानको रुपमा पुरस्कारलाई बुझ्न आग्रह गर्नु भएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्