कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने बोर्डको सबै तयारी पूरा

काठमाडौं । कक्षा १२ को परीक्षाफल केही दिनमै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । कोभिड–१९ को संक्रमण तथा उच्च जोखिमका कारण विद्यार्थीको पायक पर्ने क्याम्पस अर्थात् होम सेन्टरबाट नै परीक्षा लिएको बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
महामारीका कारण मंसिर ९ गतेबाट सुरु भई १६ गते सम्पन्न भएको थियो । परीक्षा सम्पन्न भएको केही दिनपछि राष्ट्रिय परीक्षा बोर्डलले एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने बताएको थियो । यही पुस दोस्रो साता अर्थात् एक महिनाभित्रै प्रकाशन गर्ने यसअघि नै बोर्डले जनाएको छ ।
तत्काल नयाँ शैक्षिक सत्र सुरु हुने भएकोले कक्षा १२ को परीक्षाफल एक महिनाभित्रै प्रकाशन गर्ने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । बोर्डका अध्यक्ष पौडेलका अनुसार, –‘एक महिनाभित्रै परीक्षाफल प्रकाशन गर्ने तयारी गर्नुको कारण उच्च शिक्षा अध्ययनका लागि विदार्थीहरूको बाटो खुल्ने छ र उनीहरूले उच्च शिक्षाका लागि अध्ययन गर्न पनि पाउने छन् ।’
परीक्षाफल एक महिनाभित्रै सार्वजनिक गर्नका लागि उत्तरपुस्तिका जाँचको कार्य सकिएको बोर्डले बताएको छ । बोर्डका अध्यक्ष प्रा.डा. पौडेलले अनुसार ७७ वटै जिल्लाका उत्तरपुस्तिका जाँच्ने कार्य सम्पन्न भएको छ । उत्तरपुस्तिका परीक्षण कार्य सकिए पनि प्राप्ताङ्क विवरण अर्थात् नम्बर इन्ट्री गर्ने कार्य हप्ता दिनभित्रै सक्ने व्यवस्था गरिएको छ ।
यसका लागि देशैभरका शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी प्राप्ताङ्क विवरण पठाइ सकेका छन् । यसर्थ परीक्षाफल भनेकै समयमा प्रकाशित गरिने बोर्डले जनाएको छ । शिक्षकले पठाएको प्राप्ताङ्क चढाउने र परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । यो कार्य बढीमा पाँच दिनभित्रै सक्ने योजना गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।
परीक्षाको समयमा कोभिड–१९ को संक्रमणका कारण परीक्षा दिनबाट बञ्चित भएका विद्यार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले पुनः परीक्षा दिन सक्ने निर्णय गरेको थियो । बोर्डले गरेको निर्णयसँगै संक्रमित विद्यार्थीहरूले उनीहरूले पनि परीक्षा दिएका थिए । उनीहरूको नतिजा पनि केही दिनमै सार्वजनिक गरिने भएको छ ।
कोभिड–१९ संक्रमिण भएका विदार्थीहरूले अन्य विद्यार्थीहरूलाई पनि संक्रमित गर्ने सम्भावना भएकाले संक्रमित विद्यार्थीका लागि पुनः परीक्षा दिन सक्ने भन्दै बोर्डले सूचना प्रकाशित गरेको थियो । त्यसपछि संक्रमित विद्यार्थीहरूले पनि परीक्षा दिएका थिए ।
तत्काल परीक्षाफल सार्वजनिक गरेमा विद्यार्थीहरूको शैक्षिक सत्र खेर नजाने र उच्च शिक्षामा अध्ययन गर्ने अवसर पाउने बताइएको छ । यसका लागि विश्वविद्यालयहरूसँग छलफल र समन्वय गरिएको छैन । तथापि यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिएको बोर्डले जनाएको छ ।
परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी प्रत्येक्ष रूपमै परीक्षामा सहभागी भएका थिए । देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ४ लाख ३ हजार १ सय ८० विद्यार्थी ससहभागी भएका थिए । ४ हजार १ सय ५० वटा परीक्षा केन्द्र तोकिएको थियो ।
कक्षा १२ को परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिने भएको छ । कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्यांकनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्