नेपालमा जंगल डढेलोले सखाप हुदैं गर्दा विजयले सार्वजनिक गरे लण्डनबाट संरक्षणका हातहरु

लन्डन । यतिबेला नेपालका धेरै जंगलहरुमा डढेलो लागि राखेको छ । पानी पर्न नसक्दा थुप्रै खेतबारीहरु पनि बाँझो पल्टिएका छन् ।
जंगलमा लागेको डढेलोका कारण बोट विरुवाहरु मात्र होइन जंगली जीवजनावर, चराचुरुङ्गीहरु पनि खरानी बनेका छन् । यति मात्र होइन, तिनै धुवाँ अनि धुलोका कारण नेपाली आकाश, विशेष त काठमाण्डौं उपत्यकाको आकाश विश्वकै प्रदुषित र खतरनाक वायुको रुपमा रह्यो । आँखा तथा स्वास प्रश्वासमा समेत धेरै समस्या सिर्जना भए । सरकारले त्यहि प्रदुषणको असरलाई न्युनिकरण गर्न भन्दै केहि दिन त सम्पुर्ण शिक्षण संस्थाहरु समेत बन्द गर्नु पर्यो ।
यहि बेला एकजना नेपाली श्रष्टा विजय हितानले भने वेलायतबाट वातावरणीय गीत ‘संरक्षणका हातहरू’ सार्वजनिक गरेका छन् । उनले अर्थ आवरको मौका पारेर २७ मार्च २०२१ का दिन बिएफबिएस गोर्खा रेडियोमा प्रसारण गरि गीत सार्वजनिक गरेका हुन् । गीत सँगै लिरिकल भिडियो पनि सोहि दिन हितानकै ब्यक्तिगत यूट्युब च्यानलबाट रिलिज गरिएको छ ।
‘अर्थ आवर’ एक अन्तर्राष्ट्रिय स्तरको वातावरणीय जनचेतना फैलाउने कार्यक्रम हो । यो प्रत्येक वर्ष मार्चको अन्तिम शनिवार बेलुका ८।३० देखि ९३० बजेसम्म बिजुली बत्ति निभाएर मनाइन्छ ।
सार्वजनिक गीतमा प्रसिद्ध संगीतकार राजकुमार बगरले संगीत भरेको छन् भने उदित नारायण झा जस्तै स्वर भएको गायक भनेर पनि कतिपयले संगीत क्षेत्रमा चिन्ने गायक नवराज थापाको स्वर रहेको छ । यसको लिरिकल भिडियोलाई सुरेन्द्र इंगनामले निर्माण गरेका हुन् ।
सोहि दिन भर्चुअल माध्यमद्वारा विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले ‘इको गीत वाचन तथा सृजना कार्यक्रम’ गरेको थियो । उक्त कार्यक्रममा पनि यस गीतको लिरिकल भिडियो प्रदर्शन गरिएको थियो ।
इको अर्थात् वातावरणीय गीत तथा साहित्य लेख्ने हितानको शब्दमा यो प्रथम रेकर्डेड गीत हो । हितान पेशाले वातावरणविज्ञ र नेपाली इको साहित्यका एक अग्रज अभियन्ता पनि हुन् ।
हितानले विछोडपछिको रात कविता संग्रह, वातावरण संरक्षण सम्वन्धी थकित पृथ्वी कथासंग्रह लगायतका साहित्यिक कृतिहरु तथा अनुसन्धानात्मक लेखहरुको प्रकाशन गरिसकेका छन् । ब्रिगेड अफ गोर्खाज, हङकङमा १० बर्ष सेवा गरि सेवानिवृत भएका हितान इन्भायरोमेन्ट एजेन्सी बेलायतमा कार्यरत छन् ।
ओपन युनिभर्सिटी अफ हङकङबाट विएससी गरेका हितानले युनिभर्सिटी अफ ग्रीनविच लन्डनबाट एमएससी गरेका हुन् । चाटर्स इन्स्टिटुड अफ इन्भायरोमेन्ट एन्ड वाटर म्यानेजमेन्ट ग्रेजुयट मेम्बर, विश्व वन्यजन्तु संरक्षण कोषको सदस्य लगायत विभन्न संघसंस्थाहरुमा समेत आवद्ध हितान साहित्य अध्ययन तथा लेखन साथै वातावरण संरक्षणमा विशेष रुची राख्दछन् ।
भिडियो हेर्नका लागि :
क्याटेगोरी : कला र मनोरञ्जन, भिडियो, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्