शीर्ष नेताहरुद्वारा गठबन्धनमा कसैलाई धोका नहुने वचनवद्धता जाहेर

काठमाडौं । विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै शीर्ष नेताहरुले गठबन्धनमा कसैलाई धोका नहुने वचनवद्धता जाहेर गरेका हुन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले काँग्रेस सभापति देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि आफूले स्वीकार नगर्ने बताउनुभयो। नेपाललाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाएर पनि विपक्षी गठबन्धनबाट अलग गराउने अध्यक्ष केपी ओली र नेता नेपाल पक्षका नेताहरुबीच छलफल भइरहेका बेला नेपालले भन्नुभयो, माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । तर माधव नेपाल धोका दिने मान्छे होइन ।
नेता नेपालले प्रतिनिसभा पुनर्स्थापना भएको अवस्थामा देउवालाई प्रधानमन्त्री बनाउने प्रक्रियाबाट आफू पछाडि नहट्ने बताउनुभयो ।
‘जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन । धारा ७६ को ५ मा दलीय अनुशासन लागू हुँदैन। केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ, नेता नेपालले भन्नुभयो, ‘सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउँला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो ।’
नेपालपछि बोल्नु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई आफूहरु (माधव नेपाल र प्रचण्ड)ले नै प्रधानमन्त्रीका लागि अगाडि सारेको बताउनुभयो ।
उहाँले भन्नुभयो ,‘शेरबहादुरजीले मलाई प्रधानमन्त्री चाहियो भन्नुभएको होइन। मैले र माधवजीले उभिदिनुस् भनेका हौं। साथ दिन्छौँ भनेर हामीले उभ्याएका हौँ । यो पटक उहाँले प्रधानमन्त्रीका लागि साह्रै गरेको होइन । यो कुरा म तपाईंहरुलाई जानकारी गराउँछु ।’
प्रचण्डले आफू प्रधानमन्त्री नबन्ने कुरा नेकपामै हुँदा बताएको भन्दै देउवालाई प्रधानमन्त्री बन्ने कुरामा धोका नहुने बताउनुभयो । ‘संसद पुनर्स्थापना हुनुपर्छ शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनैपर्छ। १४९ जना सांसदहरुको बहुमतसहित दाबी पेश भएकाले देउवा नै प्रधानमन्त्री हुनुपर्छ,’ प्रचण्डको भनाइ छ । उहाँले संविधानको धारा ७६ को उपधारा ५ मा सांसदलाई ह्विप नलाग्ने गरेर विशेष अधिकार संविधान बनाउँदा नै राखेको बताउनुभयो ।
काँग्रेस सभापति देउवाले पनि सर्वोच्चबाट आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश आउने विश्वास व्यक्त गर्नुभयो । साथै देउवाले पनि एमाले नेता नेपाललाई धोका नहुने बताउनुभयो । देउवाले, ‘माधवजी लडाकू मित्र हो । उहाँले क्रान्तिकारी पार्टीको नेतृत्व गर्नुहुन्छ होला । उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ । उहाँलाई मबाट पनि कुनै धोका हुँदैन ।’
जनमोर्चाका महासचिव मनोज भट्टदेखि काँग्रेस सभापति शेरबहादुर देउवासम्मले कुनै मूल्यमा एकअर्कालाई धोका नहुने बताउनु भएको हो । भट्टले गठबन्धनसँगको सहकार्यमा आफ्नो हैसियत अनुसारको साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले पनि गठबन्धनबाट दायाँ बायाँ हुने सोचमा जसपा (उपेन्द्र यादव पक्ष) नरहेको बताउनुभयो।
क्याटेगोरी :
समाचार
तपाईको कमेन्ट लेख्नुहोस्