भिसा सेवा शुक्रबारबाट नियमित, एक सातासम्म पर्यटकलाई छुट

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द भएको भिसा सेवा शुक्रबारबाट सुचारु हुने भएको छ । अध्यागमन विभागले यसअघि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको थियो । बन्द भएको सेवा शुक्रबारबाट सुरु गर्ने निर्णय भएको विभागले जनाएको छ ।
विभागका अनुसार शुक्रबारबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा सहुलियतको सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।
विभागका अनुसार २०७८ वैशाख १५ सम्म वैध भिसा भएका विदेशी नागरिक २४ असारभित्र नेपालबाट बाहिरिँदा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबट निःशुल्क भिसा नियमित गरिनेछ ।
नेपालमै रहन चाहने पर्यटकले भने २४ असार भित्र आवेदन गरेमा विलम्ब शूल्क र जरिवाना नलिई भिसा शुल्क मात्र लिएर नियमित गरिने विभागले जनाएको छ । २४ असारपछि आउने विदेशीको हाकमा भने भिसा शुल्क, विलम्ब शूल्क र जरिवाना समेत लाग्ने छ ।
यस्तै, नेपाललमा एक जना पर्यटकले एक वर्षमा पर्यटक भिसामा बढीमा १ सय ५० दिन मात्र रहन सक्ने प्रावधान रहेको छ । तर, निषेधाज्ञा भएको समयलाई भने सरकारले पर्यटक भिसाको यो अवधिबाट छुट दिने भएको छ ।
अर्थात् यो वर्ष पर्यटकले २ सय १० दिनसम्मको बसाईलाई पर्यटक भिसा लिन सक्ने गरि निर्णय भएको समेत विभागले जानकारी गराएको छ ।
नेपालमा सरकारले वैशाखको पहिलो साताबाट विभिन्न जिल्लामा निषेधाज्ञा थालेको थियो । उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा शुरु भएको हो । यो बेला हजारौं पर्यटक पर्वतारोहणको सिलसिलामा नेपालमा थिए ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्