दश दिन काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा थपिएको छ । आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलिदेखि १० दिन सम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।
साउन १ गतेबाट जारी निषेधाज्ञा आज रातिबाट सकिँदैछ । भोलि देखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन ।
खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले जनाएको छ । शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन ।
औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरू बाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्ममात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । यसअघि जिल्ला प्रशासन कार्यालयले लामो दुरीका सवारीसाधनहरू चल्न अनुमति दिएको थिएन। तर गृहमन्त्रालयबाटै पत्राचार भएपछि शुक्रबार सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन चल्न दिने अनुमति दिएको थियो ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्