Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

फिफा विश्वकप ट्रफी र २११ देशको झण्डा, सगरमाथा संगै सात महादेशका अग्ला शिखर चुमाउदैँ नेपाली युवक


काठमाडौं । नेपाली २६ बर्षे युवक सगरमाथा आरोही नर्विन राना मगरले फिफा वल्र्डकप २०२२ को ट्रफिलाई विश्वको सर्वोच्च शिखर सगरमाथा देखि सात महादेशका अग्ला शिखरहरुमा पुर्याउने अभियानको थालनी गर्नु भएको छ ।

कोभिड १९ को महामारीले थिलथिलिएको नेपालको पर्यटन व्यवसायको पुर्नउत्थान तथा प्रचारप्रसार साथै नेपाली फुटबलको बिकासमा टेवा पुर्याउने उद्देश्य बोकेर नर्विनले हिमाल आरोहणको यस अभियान थाल्नु भएको हो ।
नेपाली पर्यटन र फुटबलको प्रचारप्रसार सँगै विश्व जलवायु परिवर्तनका कारण हिमालहरु पग्लिदै गएको भन्दै हिमाल बचाऔँ र विश्व शान्ती भन्ने सन्देश समेत बोकेर हिमालहरु आरोहण गर्न लागेको नर्विनको भनाई छ ।

नर्विनले फिफा विश्वकप फुटवल ट्रफीको रिप्लिकालाई सेभेन समिटहरु पुर्याउन लाग्नु भएको हो । साथै नर्विनले फिफा सदस्य राष्ट्रहरु २११ वटा देशका झण्डाहरुलाई समेत शिखरहरु चुमाउने लक्ष्य लिनु भएको छ । आरोहण पछि उक्त ट्रफी, झण्डा साथै अन्य उपयोग भएका सामाग्रीहरु म्युजियममा हस्तान्तरण गर्ने लक्ष्य लिनुभएको छ ।

अभियानलाई सफल पार्नका लागि नर्विनले एन्फा, विश्वकप आयोजक देश कतार, नेपाल सरकार पर्यटन मन्त्रालय, खेलकुद मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल माउन्टेनरिङ एशोशिएसन अफ नेपाल, नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल, राष्ट्रिय खेलकुद परिषद् लगायतका विभिन्न संघसंस्था, निकाय तथा व्यक्तिहरुसँग समन्वय गरेर अभियान अगाडि बढाउने बताउनु भएको छ ।

आरोही मगरले विश्वको अग्लो शिखर (८,८४९ मिटर) सगरमाथाको २३ बर्षको उमेरमा सफल आरोहण गरिसक्नु भएको छ । यसैगरि नर्विनले अफ्रिका महादेशको सर्वोच्च शिखर किलिमञ्जरो (५,८९५ मि.) २३ बर्षमा, युरोपको एल्बु्रस (५,६४२ मि) २३ बर्षमा, साउथ अफ्रिकाको आकान्कावा(६,९६२) २३ बर्षमा सफल आरोहण गरिसक्नुभएको छ ।

त्यस्तै टेक्निकल हिमाल मानिने आमादब्लम (६,९६२) हिमाल २४ बर्षमा, मेरापिक (६,४७६ मि.) हिमाल १८ बर्षमा आरोहण गर्नु भएको छ भने उहाँले १८ देखि २१ बर्षभित्रको उमेरमा आईल्याण्ड पिक (६,१८९ मि.) हिमालको नौ पल्ट सफल आरोहण गरिसक्नु भएको छ । त्यस्तै पोकल्ड (५,८०६ मि.) हिमाल २२ बर्षमा, लोबुचे पश्चिम (६,११९ मि.) दुईपल्ट २० बर्षको उमेरमा, त्यस्तै २० बर्षको उमेरमा नै चोलु वेस्ट (६,४१९ मि.) हिमालको सफल आरोहण गर्नु भएको छ । भने पछिल्लो पल्ट उहाँले मनास्लु (८,१६३ मि.) हिमाललाई २६ बर्षको उमेरमा सफल आरोहण गर्नु भएको छ ।

एड्भान्स लेभवको माउन्टेन गाईड कोर्ष गर्नु भएका नर्विन सेभेन समिट एक्स्पिडिसन २०१८-२० प्रोजेटमा ४ वटा माउन्टेनहरुको सफल आरोहण गर्नु भएको छ भने ग्रेट हिमालयन ट्रेललाई कान्छो उमेरमा चार महिनाको समयमा सकेको रेकर्ड समेत नर्विनसँग रहेको छ ।

त्यसै गरि उहाँ एभरेष्ट म्याराथन २०१२ मा (४२ कि.मि.), अन्नपुर्ण म्याराथन २०१३ मा (५० कि.मि.) र सोलु सल्लेरी देखि पिके २०११ मा (२८ कि.मि.) रेस समेत पुरा गर्नु भएको छ ।

मगर समुदायबाट कान्छो सगरमाथा आरोहीको रेकर्ड बनाउनु भएका नर्विन किलिमञ्जरो हिमाल भेटिएको डाटाअनुसार जम्मा ६ घण्टा २० मिनेटमा सबैभन्दा छोटो समयमा चढेर ओर्लेको रेकर्ड रहेको छ ।
सेभेन समिट माउन्टेन एक्स्पिडिसन फर फिफा वल्र्ड कप २०२२ को अभियानलाई सफल बनाउन सोमबार काठमाडौंमा एक अभियान समिति समेत गठन गरिएको छ ।

नेपालको पर्यटन क्षेत्र, नेपालको फुटबल, साथै सिंगो विश्वलाई जलवायु परिवर्तनको असरलाई बचाउन विश्वकप फुटवल जस्तो विश्वप्रसिद्ध खेलको ट्रफिलाई लिएर विश्वको अग्लो शिखर सगरमाथा सहित विश्वका सात अग्ला शिखरहरु आरोहणबाट दिन खोजेको सन्देशले नेपाल र नेपालीहरुको गरिमालाई समेत उचाईमा पुर्याउने हुदाँ सम्पुर्ण व्यक्ति, संघसंस्था, सरकारी तथा गैह्र सरकारी सवै तहबाट आर्थिक, भौतिक, नैतिक साथसहयोग र हौसला प्रदान गरिदिनु हुनको लागि अभियान समितिका अध्यक्ष श्याम राना मगरले सवैसमक्ष आग्रह गर्नु भएको छ ।

सगरमाथा रहेको र आफ्नो जन्मथलो समेत भएको जिल्ला सोलुखुम्बुबाट आफ्नो अभियानको औपचारिक थालनी भएको घोषणा गर्ने आरोही नर्विनले जानकारी दिनु भएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्