Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

भाषा, संस्कार र संस्कृति जर्गेना गर्न मगर महिलाको कार्यक्रम (फोटो फिचर सहित)


काठमाडौं ।

आदिबासी मगर जातिको भाषा, संस्कार, र संस्कृति जगेर्ना विषयक ५ दिने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजना र टोखा नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो । चैत १६ गतेदेखि टोखाको टिङ्लिङटार मावीमा सुरु भएको कार्यक्रम २० गते सम्म सञ्चालन भएको थियो ।

संघका उपमहासचिव चित्रश्रीस मगरले सञ्चालन गर्नुभएको कार्यक्रमको उद्घाटन सत्रमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल मगर लेखक संघका अध्यक्ष साथै नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ डा. बिष्णु कुमार सिंजाली मगरले मगर भाषाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तैगरि आदिबासी जनजाति आयोगका सदस्य तथा संस्कृतिका अध्येता डा. मिन श्रीस मगरले मगर संस्कार संस्कृतिको विषयमा प्रशिक्षण दिनु भएको थियो ।


भाषाको महत्वको बारेमा भने संघका भाषिक उपाध्यक्ष फुल कुमारी थापा मगरले प्रशिक्षण दिनुभएको थियो ।

८० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको कार्यक्रमले मगर भाषा, संस्कार र संस्कृतिको जगेर्नाका लागि मगर महिलाहरुमा ज्ञान प्रदान गर्दै महत्वपुर्ण भुमिका खेलेको नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले विश्वास व्यक्त गर्नुभएको छ ।

महासचिव मीन कुमारी घर्ती मगरले सञ्चालन गर्नु भएको कार्यक्रमको समापनमा सहयोगी टोखा नगरपालिकालाई सम्मान पत्र तथा प्रशिक्षकहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

टोखा वडा नं. ७ का अध्यक्ष नरोक्तम राना मगर, वडाका न्यायिक समितिका सदस्य गोपी कृष्ण पाठक, नेपाल मगर संघका सल्लाहकार कृष्ण थापा मगर, उपमहासचिव खगेन्द्र पुन मगर, मगर उत्थान समाजका अध्यक्ष चन्द्र बहादुर थापा मगर, सेरोफेरो लाङ्घाली समाजका अध्यक्ष ओम बहादुर थापा मगर, कानुङ भेजा समाजका महासचिव तारा थापा मगर, काठमाडौं जिल्ला समितिका मञ्जु थापा मगर, भूम्या समाज, चेलीबेटी आमा समुह लुकुम, मगर महिला संघ ललितपुरका प्रतिनिधीहरु लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्