उत्कृष्ट प्रदर्शन गर्छौं– कप्तान किरणकुमार लिम्बू

काठमाडौ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले सिंगापुरसँग हुने मैत्रीपूर्ण फुटबल र एएफसी कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।
नेपालले आगामी मार्च २१ गतेदेखि मैत्रीपूर्ण खेल र त्यसपछि मार्च २५ मा मलेसियासँग एएफसी एशियन कप क्वालिफायर खेल्दैछ । त्यसका लागि बिदाइको अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणले अवे खेल हुने भएकाले केही असहज हुने भए पनि उत्कृष्ट प्रदर्शन गर्ने बताउनु भएको हो । उहाँले अहिले नै यो गर्छौं र उ गर्छौं भन्नुभन्दा पनि राम्रो खेल्ने उल्लेख गर्दै आफ्नो टोलीमा धेरै अनुभवी खेलाडी नभए पनि क्षमतावान् रहेको बताउनुभयो । टोली सन्तुलित रहेको र चोटबाट अनुभवी खेलाडी रोहित चन्द पनि फर्कनु सुखद पक्ष रहेको कप्तान लिम्बुले बताउनुभयो ।
समग्रमा आफ्नो टोली सन्तुलित रहेकाले राम्रो नतिजाको आशामा रहेको र छोटो तयारीका बाबजुद सिंगापुरसँगको मैत्रीपूर्ण खेल छनोटका लागि राम्रो माध्यम बन्ने उहाँको विश्वास छ । कप्तान किरणले नयाँ प्रशिक्षकको प्रशिक्षणमा धेरै राम्रो परिवर्तन देख्ने बताउनु भएको छ । साफ अगाडि लगातार खेल हुनु टोलीका लागि सुखद पक्ष रहेको उहाँको भनाई छ ।
नेपाली टोलीका प्रशिक्षक म्याट रसले टोलीमा धेरै क्षमतावान खेलाडी रहेकाले खेलका लागि उत्साहित रहेको बताउनुभयो । टोलीमा अनुशासित र सतप्रतिशत कमिटमेन्ट दिने खेलाडी रहेकाले पनि आफू राम्रो नतिजाको आशामा रहेको विश्वास व्यक्त गर्नुभयो । ३० दिनसम्म खेलाडीसँग प्रशिक्षणमा रहेपछि राम्रो खेलाडी छनोट गरेको उहाँले बताउनुभयो । टेक्निकल राम्रा खेलाडी रहेको यो युवा टोलीबाट सकरात्मक नतिजाको अपेक्षामा आफू रहेको प्रशिक्षक रसले बताउनुभयो ।
आज नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले बिदाइ गनूभएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्