जंगलजस्तो विश्व

– अविकसित देश धनी र सम्पन्न देशका निम्ति श्रमशोषण, प्राकृतिक सम्पदा दोहन र सार्वभौमिक लुट केन्द्रमा परिणत भएका छन् । जंगलजस्तै भएको छ, वर्तमान विश्व । दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघको गठन सुरु भएको विश्व व्यवस्थाका साझा अवधारणा विघटित हुँदै गइरहेका छन् ।
दोस्रो विश्वयुद्धपछिको साझा राजनीतिक अवधारणाले त्यतिवेलाका सोभियत संघको साम्यवादी विश्व दृष्टिकोण तथा संयुक्त राज्य अमेरिकाको पुँजीवादी विश्व दृष्टिकोणको द्वन्द्वात्मक स्थितिबीच न्यूनतम साझा राजनीतिक–सामाजिक साझेदारीका रूपमा विकसित फासीवाद र धार्मिक आस्थाको राजनीतीकरणको विरोध, शान्ति, सहअस्तित्व तथा जनतान्त्रिक सर्वोच्चतालाई सर्वस्वीकार्य बनाएको थियो । सोभियत संघ र संयुक्त राज्य अमेरिकाको द्वन्द्वले विश्वलाई दुई खेमामा विभाजित गरे पनि एउटा तेस्रो खेमा पनि थियो, जसले आफूलाई गुटनिरपेक्ष वा असंलग्न आन्दोलनका रूपमा उभ्यायो । प्रायः अविकसित र विकासशील देश यस आन्दोलनका सदस्य थिए । यद्यपि असंलग्न आन्दोलनमा सम्मिलित यी सदस्य देशले दुई खेमामध्ये कुनै न कुनैको सद्भावको आकांक्षा राखेकै हुन्थे । तापनि, शान्ति, समृद्धि, सद्भाव र गुटनिरपेक्षतालाई नाराका रूपमा सार्ने असंलग्न आन्दोलनप्रति विश्व समुदायको सहानुभूतिपूर्ण भाव थियो ।
रोशन जनकपुरी
दोस्रो विश्वयुद्धपछिको साझा विश्व व्यवस्था फासीवाद तथा धार्मिक कट्टरता (तत्कालीन स्थितिमा क्रिस्चियन सर्वोच्चता) विरुद्ध विकसित भएको थियो । बीसौँ शताब्दीको अन्तिम दशकमा सोभियत संघ ढलेपछि विश्व राजनीति एकल अमेरिकी साम्राज्यवादी वर्चस्वतिर झुुक्दै गयो । विगत ३० वर्षको एकल अमेरिकी साम्राज्यवादी वर्चस्वको युगको समीक्षा गर्ने हो भने लोकतन्त्रको परिभाषा एक मात्र पुँजीवादी वर्चस्वको चुनावी शासन पद्धतिमा फेरिएको छ । सामाजिक नैतिकताका सबै तर्क आर्थिक नाफा–नोक्सानमा फेरिएका छन् । अविकसित र विकासशील देश धनी र सम्पन्न देशका निम्ति श्रमशोषण, निर्बाध प्राकृतिक सम्पदाको दोहन र सार्वभौमिक लुटका केन्द्रमा परिणत भएका छन् ।
पुँजीवादी खेमाको सुरुदेखि नै नेतृत्व गरिरहेको अमेरिकी साम्राज्यवादी एकल वर्चस्वको वर्तमान तीसवर्षे विगतले अन्य शक्तिशाली देशलाई पनि हतियारको धन्दा, सैन्य र आर्थिक बलमा अविकसित र विकासशील देशमा राजनीतिक वर्चस्व र यसका निम्ति समाजलाई विभाजन गर्न संकीर्ण धार्मिकताको प्रयोग तथा यसको बलमा पुँजीको विश्वव्यापी विस्तारको कला सिकाइदिएको छ । यसैकारण, थोरै मात्र विकसित भए पनि क्षेत्रीयस्तरका अगुवा देशले समेत सम्पन्न हुन अमेरिकी दाउपेच नै अपनाइरहेका छन् । परिणाम, एकल साम्राज्यवादी वर्चस्वको वर्तमान विश्व अन्तर्साम्राज्यवादी हुन गएको छ, जसको मुख्य बिन्दुमा अमेरिका छ र यसविरुद्ध एउटा मोर्चामा रुस सैन्य र अर्को मोर्चामा चीन आर्थिक बलमा उभिएको छ ।
यसको सबैभन्दा खतरनाक परिणति के भएको छ भने फासीवाद र संकीर्ण धार्मिकताविरुद्ध प्रगतिशील राष्ट्रियता (देशभक्ति), धर्मनिरपेक्षता तथा जनहितमा आधारित जनतन्त्र अथवा लोकतन्त्र अर्थात् जनसर्वोच्चताको साझा अवधारणा कमजोर हुँदै गएको छ र सत्ताप्राप्तिको राजनीतिमा फासीवाद र निरपेक्ष धार्मिकता विश्वभरि नै फर्किरहेको देखिन्छ ।
कुनै शक्तिशाली समाजवादी आन्दोलन र सत्ताको अभावमा क्युवा जेनतेन अस्तित्व धान्दै छ भने उत्तर कोरिया पुस्तैनी शासनमा परिणत भइसकेको छ । मध्यपन्थी भेनेजुएलालगायत मध्य र दक्षिण अमेरिकी साना देशमा बोलिभारियन समाजवादी अवधारणा अमेरिकी साम्राज्यवादी ट्याक्टिसमा फस्दै गइरहेको छ । भेनेजुएलामा निर्वाचित राष्ट्रपति निकोलस मदुरोका निम्ति स्वघोषित राष्ट्रपति जुआँ गुएइदोले अमेरिकी बलमा चुनौती खडा गरेकै छन् । बोलिभियामा सैन्य कु पछि उत्साहित मदुरोविरोधी एकपटक फेरि भेनेजुएलाको सडकमा जोड गर्दै छन् । अर्कातर्फ कुनै पनि हालतमा स्वास्थ्य र शिक्षालाई व्यवसायीकरण गर्न नदिने दृढता देखाएर अमेरिकी पुँजीपति तथा आन्तरिक दलाल पुँजीपतिलाई चिढ्याएका लोकप्रिय बोलिभियाली राष्ट्रपति इभो मोरालेसले संविधानअनुसार निर्वाचन जिते पनि उनलाई उनकै सेनाले राजीनामा दिन बाध्य गराएको छ र त्यहाँ सैन्य बलमा कार्लोस मेसाले शासनको लगाम सम्हालेका छन् । यद्यपि त्यहाँ मोरालेसको समर्थनमा भएको प्रदर्शनमा सेनाले दमन गर्दा कम्तीमा २० जनाको ज्यान गइसकेको छ ।
बोलिभियामा मोरालेसविरुद्ध प्रदर्शनको दौरान उनका विरोधी नेताले ‘बाइबललाई दरबारमा पु¥याऊँ’ भन्ने नारा दिएका थिए । यसले मध्य र दक्षिण अमेरिकामा साम्राज्यवादविरोधी सत्ता टिकाउन साम्राज्यवादी आर्थिक र सैन्य दाउपेचसँगै धार्मिक संकीर्णताको पनि धूर्ततापूर्ण प्रयोग भइरहेको सहजै देखिन्छ । स्थिति कतिसम्म जटिल छ भने यो फासीवाद र धार्मिक संकीर्णताले शान्ति, विश्वबन्धुत्व र धर्मनिरपेक्ष चेतना तथा उत्पीडित वर्ग र समुदायको निम्ति संघर्ष गर्नुपर्ने सामाजिक राजनीतिक चेतनालाई निरर्थक बनाउँदै लगेको छ ।
फासीवाद र धार्मिक संकीर्णताले शान्ति, विश्वबन्धुत्व र धर्मनिरपेक्ष चेतना तथा उत्पीडित वर्ग र समुदायका निम्ति संघर्ष गर्नुपर्ने सामाजिक राजनीतिक चेतनालाई निरर्थक बनाउँदै लगेको छ ।
वर्तमान विश्वमा तपाईंले जनहितमा आधारित सत्ता खोज्न गाह्रो छ । अब त आन्दोलनसमेत खोज्न गाह्रो हुँदै गइरहेको छ । एकातिर हिजोका प्रगतिवादी उपनिवेशवादी राष्ट्रिय मुक्ति आन्दोलनहरू संकीर्ण राष्ट्रियता र धार्मिक मुक्तिका आन्दोलनमा परिणत हुँदै गइरहेका छन् । अर्कातिर शासकले समेत आफ्नो सत्ता जोगाउन साम्राज्यवादी देशको दलाली तथा संकीर्ण धार्मिकता र फासीवादी संकीर्ण राष्ट्रियतालाई हतियार बनाइरहेका छन् । अमेरिकामा दक्षिणपन्थी राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयको आधार गोरा सर्वोच्चतामा मातेका नश्लवादी समूह ‘कु क्ल्याक्स क्ल्यान’को नामबाट परिचित नवफासीवादी प्रतिबद्ध समूह हो । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिन पुराना फासीवादी इभान इल्यिनको विचारधारालाई प्रोत्साहित गरेर ‘मदर रसिया’को संकीर्ण राष्ट्रवादलाई सत्तामा टिक्ने आधार बनाइरहेका छन् । सिमेटिक (यहुदी र इस्लाम) विरोधी विचारका पक्षधर इभान इल्यिनलाई बोल्शेभिकहरूले अन्य प्रतिक्रियावादी बौद्धिकसँगै तत्कालीन सोभियत रुसबाट खेदेका थिए ।
धर्मनिरपेक्ष तर सैन्य प्रभावमा रहेका टर्कीमा तैयप एड्रोगान इस्लामिक धार्मिकताको आधारमा कथित लोकतान्त्रिक निर्वाचनकै माध्यमबाट सत्ताकब्जा गरी सम्पूर्ण टर्किस समाजलाई इस्लामीकरण गर्न खोज्दै छन् । अमेरिकी र रुसबीच घरि यता घरि उता ढल्किरहने एड्रोगान हाल रुसी खेमामा छन् । इस्लामिक मूल्यभन्दा पर हेर्न नचाहने उनका पक्षधरले त्यहाँ धर्मनिरपेक्ष र प्रगतिशील जमातमाथि चौतर्फी हमला गर्दै कमजोर तुल्याइरहेका छन् । यसैकारण भारत र पाकिस्तानको द्वन्द्वमा कुनै समयको निकट मित्र नरेन्द्र्र मोदीको विरोधमा उनी पाकिस्तानको पक्षमा उभिएका छन् । यसलाई तपाईं भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको भारतीय जनता पार्टीको सरकारसँग तुलना गर्न सक्नुहुन्छ । भारतीय प्रधानमन्त्री मोदीले कट्टर हिन्दुत्वको घोडचढी गरेर निर्वाचनकै माध्यमबाट सत्ताको नेतृत्व सम्हालेका छन् र अब सम्पूर्ण भारतीय समाजलाई संकीर्ण हिन्दुत्वकरण गर्न उद्यत छन् । हिन्दू सर्वोच्चतामा आधारित मोदीको भाजपा मिथपालाई ऐतिहासिक पात्रका रूपमा र भारतीयतालाई हिन्दुत्वका रूपमा व्याख्या गर्न चाहन्छ ।
भारतमा गैरहिन्दू तथा धर्मनिरपेक्ष समुदायले यसको चौतर्फी विरोध र आलोचना गरिरहेका छन्, तर माक्र्सले ‘धर्म अफिम हो’ भनेजस्तै धार्मिक उत्तेजनाको चौतर्फी नशा र मोदी प्रचार तन्त्रसामु सबै कमजोर देखिन्छन् । यो प्रभाव कतिसम्म देखियो भने अयोध्याको बाबरी मस्जिद–राम मन्दिर प्रकरणमा सर्वोच्च अदालतले इतिहास र मिथकीय ग्रन्थको एउटा हिन्दूधारालाई मात्र प्रमाणका रूपमा स्विकारेर मिथकीय रामलाई लौकिक राममा परिणत गरिदिएको छ र उनको जन्म अयोध्यामा भएको थियो भन्ने ऐतिहासिक रूपमा स्वीकार गरेको छ । जब कि बौद्ध जातकहरूमा रामका पिता दशरथलाई काशीका राजा र अयोध्याको पुरानो नाम साकेत भनिएको छ । भारतमा दुई धार्मिक समुदायबीच विवादका रूपमा रहेको इतिहासको सबैभन्दा लामो मुद्दामध्येको एक अयोध्या प्रकरणको फैसला आउनु र यसले साम्प्रदायिक सद्भाव कायम हुन्छ भने यसलाई सकारात्मक नै मान्नुपर्छ । तर, हिन्दूजनमा आस्था र विश्वासका देवता रामलाई जसरी ऐतिहासिकीकरण गरिएको छ, यो सामाजिक एकत्वका निम्ति खतरनाक छ । यसले न्यायपद्धतिमा पनि संकीर्ण धार्मिकताको प्रभाव उजागर गर्छ ।
यस प्रकरणमा रोचक के छ भने एकजना कानुन व्यवसायीले आफूलाई ‘भगवान् राम’को आधिकारिक वकिल घोषित गरेका थिए र सर्वोच्च अदालतले स्विकारेको थियो । यो गलत नजिर हो र यसले भोलिका दिनमा हनुमान, कृष्ण, मोहम्मद र जिसस क्राइस्टका वारेस र वकिल खडा गर्न सक्छ । आमधर्मभीरु समुदायले कुनै देउता वा भगवान्को अस्तित्वमा विश्वास राख्नु एउटा विषय हो, तर यसले कानुनको धर्मनिरपेक्ष र सबैका निम्ति बराबर भन्ने चरित्र र दायित्व खण्डित गर्छ । हामीकहाँ पनि मन्दिरको जग्गा रामजानकी र अन्य देवी–देउताको नाममा राख्ने चलन परम्परागत रूपमा अहिले पनि कायम छ । यसमा हेरफेर गरिएन र धार्मिक संस्थाको सम्पूर्ण सम्पत्ति सरकारको प्रत्यक्ष बन्दोबस्तमा ल्याइएन भने ‘रामजीका वकिल र वारेसहरू’ यहाँ पनि जन्मिँदैनन् भन्न सकिन्न ।
फासीवादी राष्ट्रिवादिता तथा संकीर्ण धार्मिकताको विश्व प्रसंग यतिमै सीमित छैन । इजरायलमा यहुदीको संकीर्ण राष्ट्रवादी शासन, साउदी अरेबिया, पाकिस्तान, बंगलादेशलगायत अरब खाडी, मध्यपूर्व तथा दक्षिण एसियाका इस्लामिक देश, पूर्वी एसियाका म्यान्मार र श्रीलंकाजस्ता बौद्ध धर्मावलम्बी देश यसका ज्वलन्त उदाहरण हुन् । यी देशमा कैयौँमा प्रत्यक्ष तानाशाही, कैयौँमा सैनिक शासन र कैयौँमा कथित लोकतान्त्रिक निर्वाचन प्रणाली छ । तर, वर्तमान विश्वको त्रिकोणीय अन्तरसाम्राज्यवादी प्रतिद्वन्द्वितामा शासनका यी विविध रूप नाम मात्रका जस्ता छन् । किनभने वर्तमान विश्वका समग्र राजनीतिक गतिविधि यिनै अन्तरसाम्राज्यवादी वर्चस्वको सेरोफेरोमा गतिशील छ । क्षेत्रीय छुटभैया विस्तारवादी शक्तिहरूको चुरीफुरी अन्ततः यिनै साम्राज्यवादी जायन्टहरूको बलमा हो । हाम्रो नेपालको राजनीतिमा राजनीतिक दलहरूको ढुलमुले चरित्र तथा ताक परे तिवारी, नत्र गोतामे जस्तै कहिले भारतनजिक त कहिले चीन र यसबीच अमेरिकी सद्भावको समेत आकांक्षा यसै विश्वको त्रिकोणीय अन्तरसाम्राज्यवादी प्रतिद्वन्द्विताको परिणाम हो । यसैकारण कुनै पनि शक्तिशाली राष्ट्रले कुनै पनि कमजोर देशलाई धम्क्याउन सक्छ, अतिक्रमण गर्न सक्छ । अहिले साझा विश्व संगठन कमजोर छन् र तिनै शक्तिशाली देशका ताबेदार छन् ।
यो दोस्रो विश्वयुद्धभन्दा पहिलेको स्थिति हो, जतिवेला ब्रिटेन र फ्रान्सजस्ता सम्पन्न साम्राज्यवादी देशविरुद्ध इटाली, स्पेन, जर्मनी र जापानजस्ता कम सम्पन्न र असम्पन्न साम्राज्यवादी महत्वाकांक्षी विस्तारवादी देशले चुनौती दिइरहेका थिए र परिणाम विश्वयुद्ध भयो । धन्न त्यतिवेला सोभियत संघजस्तो मानवीय र श्रमजीवी वर्गको देश थियो, जसले फासीवादलाई निर्णायक रूपमा परास्त गर्यो । तर, अहिले त सबै आफ्नै वर्चस्वको चिन्तामा छन् । यस्तोमा एकपटक फेरि मानवीयता तथा उत्पीडित वर्ग र समुदायको साझा मञ्च र समाजवादी विश्वको धारणा सान्दर्भिक देखिन्छ । नयांपत्रिका दैनिकबाट साभार गरिएकाे
क्याटेगोरी : विचार
तपाईको कमेन्ट लेख्नुहोस्