Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

पत्रकारविरुद्धको दण्डहीनता अन्त्य दिवस


खगेन्द्र फुँयाल

-नोभेम्बर महिनाभर पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा एकपटक फेरि पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका बारेमा विश्वभर बहस भइरहेको छ । २१ फेब्रुअरी ०१४मा बसेको संयुक्त राष्ट्रसंघको ६८औँ साधारणसभाले पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य गर्न विश्वव्यापी रूपमा २ नोभेम्बरलाई पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

२ नोभेम्बर २०१३मा फ्रान्सका रेडियो पत्रकार क्लाउड भर्लोन र घिस्लेने डुपोन्टलाई मालीको किडलमा मारिएको दिनको सम्झनास्वरूप २ नोभेम्बरलाई अन्तर्राष्ट्रिय दिवस तोकिएको हो । नेपालमा पनि प्रेस तथा पत्रकारको हकहितमा स्थापित संघ–संस्थाले सन् २०१४ देखि प्रत्येक वर्ष नोभेम्बर महिनालाई पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी जनचेतना तथा न्यायका लागि दबाबमूलक दिवसका रूपमा मनाउँदै आएका छन् ।

सन् २०१० देखि नोभेम्बर २०१९ सम्म विश्वमा पाँच सय ५० जना पत्रकारको हत्या भएको छ । मारिनेमध्ये धेरै पत्रकार सिरिया, अफगानिस्तान, यमन, फिलिपिन्स, भारत, पाकिस्तान, इराक, थाइल्यान्डलगायत युद्धरत क्षेत्रका तथा दक्षिणपन्थी सरकारको बोलवाला रहेको देशका रहेका छन् । होन्डुरस, लिबिया, अमेरिका तथा बेलायतमा समेत पत्रकार मारिएको विवरण कमिटेट टु प्रोटेक्ट जर्नालिस्टसँग छ ।

नेपाल पत्रकार महासंघले पहिचान गरी अभिलेख गरेअनुसार हालसम्म ३७ जना पत्रकार मारिएका छन् भने ५ जना पत्रकारको अवस्था अज्ञात छ । नेपालमा ०५२ साल फाल्गुन १ गते देखि ०६३ साल मंसिर ५ गतेसम्म २४ जना पत्रकार राज्य तथा विद्रोहीका तर्फबाट मारिए भने दुईजना पत्रकारलाई राज्यबाट बेपत्ता पारियो । बेपत्ता पारिएका ती दुईजना पत्रकार माओवादी सम्बद्ध साप्ताहिक पत्रिकामा कार्यरत थिए ।

जनयुद्धपछि ०६३ साल मंसिर ६ गतेबाट हालसम्म १३ जना पत्रकार मारिएका छन् भने ३ जना पत्रकारको अवस्था अज्ञात छ । पत्रकार महासंघमा अभिलेख भएअनुसार ०६५ देखि ०७५ सम्मको एक दशकको अवधिमा (मारिएका र बेपत्ताबाहेक) एक हजार आठ सय ३२ वटा प्रेस स्वतन्त्रता हननका घटना भए । प्रेस स्वतन्त्रता हननका घटनामा पत्रकारमाथि धम्की, दुव्र्यवहार, आक्रमण, समाचार संकलनमा अवरोधजस्ता घटना प्रशस्त भएका छन् । यस्तै पत्रकारलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गर्ने क्रम पनि बढ्दो छ ।

पत्रकारमाथि हुने अपराधका घटना न्यायालयसम्म नपुग्दा पत्रकार आफैँ न्यायबाट वञ्चित हुनुपर्ने अवस्थाले हाम्रो व्यवस्थालाई नै गिज्याइरहेको छ

मारिएका पत्रकारमध्ये, उमा सिंह (धनुषा), अरुण सिंघानिया (धनुषा), विरेन्द्र शाह (बारा), पुस्कर बहादुर श्रेष्ठ (पर्सा), जमिम शाह (काठमाडौंं), यादव पौडेल (झापा), देवीप्रसाद धिताल (दाङ), रामप्रसाद भट्टराई (उदयपुर) र मनोहर ढकाल (मकवानपुर) गरी ९ जना पत्रकारको मुद्दा न्यायिक निकायमा चलिरहका थिए । वर्षौं बितिसक्दा कतिपय मुद्दा अनुसन्धानकै क्रममा त्यत्तिकै थन्किन पुगे भने कति मुद्दाको फैसला भइसकेको छ ।

जनयुद्धको अवधिमा मारिएका पत्रकारका परिवारलाई न्याय र दोषीलाई कारबाहीका लागि नेपाल पत्रकार महासंघले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको थियो, तर त्यसले गति लिन सकेको छैन । त्यस्तै बेपत्ता पारिएका पत्रकारको अवस्थाको सार्वजनिकीकरणका लागि पनि महासंघले बेपत्ता पारिएका व्यक्तिको सूचीसहित छानबिन आयोगमा उजुरी दिएको थियो ।

नेपालमा पत्रकारमाथि हिंसा हुनुका पछाडिका मुख्य कारण सञ्चारमाध्यममा छापिएका समाचारको विषय नै हुने गरेको पाइएको छ । पत्रकारमाथि हुने हिंसामा उनीहरू अन्य व्यवसायमा आबद्ध हुनुलाई पनि प्रमुखताका साथ नउठाइएको होइन । तर, भ्रष्टाचार, अनियमितता, अपराध, खानी तथा अवैध तस्करी, गैरकानुनी गतिविधिसम्बन्धी समाचार संप्रेषण गरेकै कारण पत्रकारले हिंसा बेहोर्नुपरेको बिर्सन मिल्दैन । त्यस्तै, पत्रकारलाई सूचना दिन नमान्ने, हातपात गर्ने, होच्याउने प्रवित्तिसमेत बढ्दो छ ।

मारिएका केहि पत्रकारबाहेक अन्य पत्रकारको हकमा न्यायिक निकायमा मुस्किलले मुद्दा चल्ने गरेको छ । पत्रकारलाई विपक्षी बनाइएका मुद्दाबाहेक पत्रकारमाथि हुने गरेका धम्की, आक्रमण, दुव्र्यवहार, बेपत्ताजस्ता घटनाका दोषीलाई न कानुनी कठघरमा ल्याइन्छ न त पत्रकारलाई पेसामा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाइन्छ । पत्रकारमाथि हुने हिंसाका घटना धेरैजसो आफू काम गर्ने संस्थामै सीमित रहँदै आएका छन् ।

हिंसाका घटनाबारे पीडित पत्रकार काम गर्ने सञ्चारमाध्यममा सानो समाचार त आउँछ, तर घटनाबारे पूर्ण विवरण र विस्तृत जानकारी कतै पनि दर्ज हुने गरेको छैन । केही घटना मात्रै महासंघसम्म आइपुग्छन् र त्यसमध्ये पनि थोरै घटना प्रहरी चौकीमा दर्ता हुन्छन् । पत्रकारमाथि हुने हिंसासम्बन्धी घटनाका दुई प्रतिशत घटना पनि अदालतसमक्ष पुग्दैनन् । पत्रकारमाथि हुने अपराधका घटना न्यायलयसम्म नपुग्दा पत्रकार आफैँ न्यायबाट वञ्चित हुनुपर्ने अवस्थाले हाम्रो व्यवस्थालाई त्यति नै गिज्याइरहेको छ । नयांपत्रिका दैनिकबाट साभार गरिएको हो ।


क्याटेगोरी : विचार

तपाईको कमेन्ट लेख्नुहोस्