Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
Sajha Hub

मजदुर दिवस : सरकार हामी पाखुरीमा बल हुन्जेल गरेर खान्छौं !


-कमल जाेशी,काठमाडाैं  –आज मे १ तारिख अन्तर्राष्ट्रिय मजदुर दिवस। आजको दिन अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ। तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु प्राय सवै देशमा स्थगित गरिएका छन्। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन वसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ।  नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाइन थालिएको हो।

तिमी र हामी (सरकार र मजदुर) जब गाउँघरमा चुनावको रौनक छाउँथ्यो तब मात्र लाग्थ्यो की हाम्रो देशमा पनि नयाँ सरकार गठन हुँदै छ। विवाहमा जस्तै रमजमका सात जन्ती आए झै नेता र तिनका कार्यकर्ताहरुको भीडले विवाह नै भएको हो कि भन्ने लाग्थो।

किनभने त्यति धेरै मानिस जम्मा हुन सायदै गाउँमा कुनै कार्यक्रम वा भोज भतेर नै हुनु पर्थ्यो। अझ त्यसमा चुनावी नारा सुने पछि बल्ल थाहा हुन्थ्यो कि देशमा राजनीति स्थिर छैन। विगतका चुनावमा जे भएपनि अब त राम्रै सरकार आउँछ र गाउँको विकास गर्छ होला भन्ने लाग्थो । अब त दुःखका दिन गए जस्तो लाग्थो तर आज विश्वभरी माहामारीको रुपमा फैलिरहेको कोराना भाइरसले आक्रान्त बनाई रहेका बेला नेपाल पनि यो महामारीसँग जुधिरहेको छ।

यो माहामारीको प्रत्यक्ष असर भने तिनै मजदुर वर्गलाई परेको छ। जसलाई सांझ बिहानको छाक टार्न पनि निकै कष्टपूर्ण छ,ज्याला मजदूरी गर्नुपर्ने वाध्यता हुन्छ। तिनै मजदुर जसको भोटले आज तपाइ देशको सम्माननीय कुर्सीमा आसिन छौं, संसदमा आफ्नो निहित स्वार्थमा र आफ्नो भलो हुने काममा मात्र बोल्छौ तर आज ती मजदुर तिमिले दिएका आशाको दियो बालेर आफ्नो पेट मुसारि रहेका छन। दियोमा तेल थप्ने काम अब तिम्रो होइन र!

कहिले आउँछौ सरकार गाउँ घरतिर की तिम्रो नजर नै नपर्ने गरी आँखामा पट्टी बाँधेर बसिरहेका छौं । हामी यो माहामारीसँग जुध्नको लागि सहयोगको अपेक्षा गरिरहेका छौं।  हामीलाई नत लकडाउनले नै रोक्छ न कुनै बन्दले नै तर पनि रातको समयमा जुनको उज्यालोमा तिम्रा चुनावका घोषणा पत्रमा पढ्नै नसकिने ठूल्ठूला कागजका पन्नामा लेखेका विकासका सपनाका अक्षर कोट्याई- कोट्याई आज फेरि पढ्न लाग्दै छु, हुन त अब फेरि अर्को चुनाव आउने बेला हुन थालि सक्यो के पढ्ने भनेर सोचे तर पनि यस्तो सोचले मनलाई शंकालु नै बनाई दियो, कि तिमीले कतै गरीब र पीडितलाई विकास नै चाहिदैन त लेखेको छैन ।

सायद यो सुने पछि अचम्म नमान्नु किनकि मैले घोषणा पत्र बाकसमा सुरक्षित नै राखेको थिए कतै तिमीले हामीलाई अनपढ नै त हुन् भनेर लेखेको पनि हुन सक्छ। तिम्रा ति चुनावी नारा र तिमीले गाउँघरमा देखाएका विकासका सपना सायद आज तिमी बस्ने ठाउँमा र तिम्रो आफन्नतलाई मात्रै त्यो घोषणा पत्र पढेको समयको सदुपयोग र फाइदा भयो जस्तो छ। खै सरकार भन्दै गरेका आवाजहरू तिमी बस्ने वा भनौं राजधानी जस्तो सहरमा पनि सुनिएका खबर हामी त्यो फाटो ब्याट्री नै सकिन लागेको रेडियोमा सुन्ने गर्दछौं।

“आफ्नो आँगनको भैंसी नदेख्ने अर्काको आँगनको जुम्रा पनि देख्ने” भने झै त्यसैले सरकार हामी त पाखुरीमा बल हुन्जेल गरेर खान्छौं विचारा तिनै जो केही गर्छु भनेर गाउँ छोडेर गएकालाई यस्तो महामारीमा खानालाई देऊ हैन भने गाउँ फर्काउने वातावरण मिलाई देऊ। वरिपरि बस्नेलाई तिमीले हेरौनौ भने हामी त झन् नजर नै नपर्ने ठाउँमा छौं। त्यसैले लाग्छ यो सरकार त केबल पहुंच वालालाई मात्रै हो। हामी त तिम्रो नजरबाट टाढा नै छौ तर तिम्रै आसपासमा बस्नेले पनि खान पाएनन् भन्दा हाम्रो मन चसक्क भएको छ।गाउँ छोडी सहर गएका दाजुभाई अब त सुखमा बसिरहेका होलान् भन्ने ठान्थे तर त्यो गलत सोचेको रहेछु ।

यस्तो महामारीमा त खानलाई दिदैनौं भने हामीले त के अपेक्षा गर्ने। तिम्रा अर्थहीन सपनाको लालचमा फसेर हामीले आफ्नो मताधिकार प्रयोग गर्नु व्यर्थ रहेछ सरकार! र अहिले सबैले गाउँघरको बाटो रोजेका छन्। आखिरीमा सबैलाई मातृभूमी नै प्यारो भन्ने कुरा पनि यसै माहामारीले प्रमाणित गरी दिएको छ। जब समस्या आउँछ तब मात्र आफ्नो मातृभूमि सम्झना कसरी आउँछ भन्ने प्रश्न मनमा उठ्छ । सायद म पनि सहरको सुविधा देखेर गएको भए यो कुरा थाहा पाउथे की मातृभूमी कति प्यारो हुन्छ भनेर। यो संकटको घडीमा पनि भ्रष्टाचारको चलखेल धेरै नै भएको सुनिन्छ।यस्तो महामारीमा पनि देश र जनताको बारेमा सोच्दैनन् भने तिमी भित्र मानवता हराएको बुझ्न सकिन्छ।

एकछिन तिम्रा निहित स्वार्थलाई तिमीबाट पर राखेर हेर अनि हेर्नु संसार यो महामारीमा के गरी रहेको छ र तिमी के गरी रहेका छौ। घाम जसरी छर्लङ्ग तब मात्र देख्ने छौ जब तिम्रा सारा निहित स्वार्थलाई तिम्रो मनको ढोकाबाट सदाका लागि बाहिर निकाली दिनेछौ।यो कुरा त हामी सबैलाई थाहा भएको हो, चोर हुनलाई बारम्बार चोर्नु पर्दैन केबल एक चोटी चोरे पुग्छ। त्यसैले पनि यो संकटको घडीमा भ्रष्टाचारको जालोबाट बाहिर निस्किन सकेनौं।यो पनि सिद्ध भएको छ कि मानव भित्रको मानवताको अपमान भएको छ,जुन अहिलेको परिस्थिमा देखाउनु पर्ने हो।सायद म तिम्रो नजिक भएको भए तिम्रो मुटुलाई छामथे की तिम्रो मुटु डुङ्गा त हैन भनेर यस्तो मानवता मानिसले देखाउँदैन मात्र निर्जीव हो भन्न सकिन्छ।

यदि संविधानमा लेखेका कुराको मात्र पालना गर्छौ भने सायद मानवताको कुनै नियम पनि छैन होला तर संविधानमा यो त अबस्से होला पीडा र दुःखमा परेका जनतालाई सहयोग गर्नु पर्छ। सामाजिक सञ्जालमा मार्शी चामलको भात खाएर कुनै चाड नै बनाएको जस्तो फोटो खिचेर पोस्ट गर्छौ रे भन्ने सुनिन्छ।हामी त सधै यही चामलको भात खान्छौं तर पनि हामीले त कहिले पनि पोस्ट गरेनौ। यदि यसको नै भात खानु छ भने गाउँतिर आउ सरकार हामी जति पनि खुवाउँछौ।तिमीले त के दियौ सरकार हामीले त गुन्द्रुक , ढिँडो र मार्शि दियौं ।

यही खाना हामीले गाउँघरमा खाँदा हामी गरीब रे त्यही तिमीले खाँदा तिमी धनी र ठूलाबडा ,खै तिम्रो यो नियत हो कि सोच हो। हामीले पसिना बगाएर उब्जाएको अन्नबाली अहिले खेतबारीमा कुहिने अवस्थामा छ। यस्तो माहामारीको बेला हामीले उब्जाएको अन्नबालीले केही राहत हुन सक्छ। यसलाई बजारसम्म लैजाने वातावरण मिलाई देऊ ताकि केही सहज होस्। हामीले नै ज्याला मजदूरी गरेर तिरेको करबाट आज तिम्रा सपना साकार भएका छन्।एक-एक रुपैयाँ गर्दै जुटाएका पैसामा हाम्रो एक – एक थोपा पसिना बगेको छ। हाम्रो पसिनाले गर्दा आज तिम्रो विलासी जीवन विती रहेको छ। तिमीले आफ्ना महल त ठडायौ साथै आफ्नो चाकरी गर्नेको पनि उठाइदियौ र हाम्रो जीवनलाई सदाका लागि गरिबीको रेखामुनि लडाइदियौ।हामी आफै उठ्छौ भन्दा पनि उठ्न नदिई हामी माथि करको बोझ थपि दियौ। आज यस महामारीमा हामी कुन अवस्था छौं, तिमीलाई के थाहा तिमी त आफ्नो राजनीतिको जालोमा फसेका छौं।

आफ्नो कुर्सी कसरी बचाउने भनेर मात्रै सोच्छौ होला ना की यो महामारीमा जनतालाई कसरी बचाउने सोच्नु पर्ने बेला हो। तिम्रो भाषणको हेरक शब्दलाई नियालेर अर्थ खोज्ने हो भने साच्चै हो की जस्तो लाग्थ्यो भनिन्छ “गर्ने मान्छे बोल्दैन र बोल्ने मान्छे गर्दैन” । आफूले के बोले भनेर सुन्ने समय पनि हुँदैन होला किनकी त्यो समय तिमीले चाकरी गर्न लगाउँछौ ।त्यसो नगरे तिम्रो राजनीति सँगै मोज मस्ति र विलासी जीवन कष्टपूर्ण हुन्छ। अब तिमी भाषण दिनु भन्दा पहिला आफ्नो भाषण सुन्ने समय छ भने मात्र बोल्नु नत्र अब राजनीतिको यात्रा टुंगिने बेला आएको छ।जनताको शोषण गरेर राजनीति गर्छ भने त्यो राजनेता हुन् सक्दैन्।हिजो राणा शासन ,पञ्चायत र राजतन्त्र फाल्न तिनै जनताको शोषण गरेको थियो र अहिले पनि त्यही अवस्था छ।

आजको यो प्रजातन्त्र हामीले ल्याऔं भनेर तिमी भाषण नगर किनकि प्रजातन्त्र कुनै पार्टी वा नेताले ल्याउन सक्दैन् प्रजातन्त्र जनताले ल्याएको हो र यो जनताकै लागि हो मात्र यो जनताले नै ल्याउन सक्छन। अब यो माहामारि सँगै धैर्य रहेर लड्दै, आउँदा दिनहरुमा आफ्नो बुद्धि र विवेक प्रयोग गरेर मजदुरवर्गले आफ्नो सोचमा व्यापक परिवर्तनको खाँचो रहेको छ। कुनै पार्टी हैन अब असल व्यक्तिको खोजीमा आफ्नो मताधिकार प्रयोग गर्नु पर्दछ। त्यसो गर्नाले यस्ता महामारी मात्रै हैन हाम्रो पुरै जीवनभरि नै हामी पीडित भएर बाँच्नु पर्ने छैन्।

किनभने जस्तो बीउ हामीले रोप्ने हो त्यस्तै नै फल पाउने हो। यहाँ अब सोच परिवर्तनको मात्र खाँचो छ। देश,जनता,नेता,र व्यक्तिलाई गाली गर्नु भनेको नै आफैलाई गाली गर्नु सरह हो।किनभने देश,जनता र नेता सबै हामीले नै जन्माउने हो। कस्तो जनमाउँछौ त्यो त हामीमा नै भर पर्ने कुरा हो।त्यसैले देश खतम,जनता खतम र नेता खतम भन्नु भनेकै अप्रत्यक्ष रुपमा आफू र आफ्नो विचार नै खतम हो भनेर ठान्नदा हुन्छ। विषेशगरी युवाहरुमा यस्तो विचारको विकास गर्नु अहिलेको लागि एकदमै आवश्यक छ।


क्याटेगोरी : विचार

तपाईको कमेन्ट लेख्नुहोस्