कोरोनाकाल पश्चात -नेपाली समाज ?

मेजन पुन
कास्की/ पोखरा
कोभिड १९ (कोरोना भाईरस) ले विश्वका अर्थतन्त्र एवम् शक्ति सम्पन्न महाशक्ति राष्ट्रहरुलाई त अचम्म पारिरहेको छ भने विकासउन्मुख देशहरुको के कुरा गर्ने ?
तर पनि यस महामारीबाट सबै देशहरु आफ्नो क्षमता अनुसार लडिरहेका छन् । छिमेकी राष्ट्रले सम्झौता उलङ्घन नगरिदिएको भए अहिलेको जस्तो अवस्था नेपालको अवश्य पनि हुने थिएन । तर पनि विज्ञको सुझाव अनि यस्तो अवस्थामा उच्च पदस्थ व्यक्तिहरुले मन लोभी नगरिकन काम गरेको भए यस महामारीलाई अझ राम्रोसँग नियन्त्रण गर्न सकिन्थ्यो ।
यस महामारीले हरेक क्षेत्रमा प्रभाव पार्यो । कृषि, स्वास्थ्य, शिक्षा, अर्थतन्त्र र प्रत्येक व्यक्तिको जनजीवनमा पनि यसको गहिरो प्रभाव पर्यो र पारिरहेको छ । यसबाट उकासिन र पहिलेको जस्तो अवस्थामा आउन निकै समय अवश्य लाग्ने छ । यसको प्रभाव कम गर्न सबै राष्ट्रहरुले लकडाउन गर्न बाध्य भए । जसले अटेर गरे अर्थतन्त्रलाई महत्व दिए त्यो देशलाई कोरोनाले धेरै असर गर्यो । त्यो देशमा धेरै मानवीय क्षति पनि भयो । साथै यस समयमा सामाजिक दुरी कायम गर्दै जनजीवन चलाउनु पर्ने भएको कारण व्यक्तिको मनोविज्ञानमा धेरैपछिसम्म असर गरिरहने निश्चित छ ।
धेरैलाई मनोचिकित्सकहरुको सहयोग र आवश्यकता पनि पर्ने छ । कोरोनाको कारणले मृत्यु हुनेको संख्या भन्दा लकडाउन भएको तीन महिनामा भएको आत्महत्याको घटना ज्यादै उच्च हुनुको कारण कमजोर मानसिक अवस्था, कमजोर आर्थिक स्थितिहरु नै मुख्य कारणहरु हुन् । यस्तो स्थितिबाट पार लगाउँदै सामान्य जीवनमा फर्कनु चुनौतीपूर्ण छ तर पनि कोरोनाबाट सुरक्षित रहँदै दैनिक जीवनमा फर्कनु आजको आवश्यकता पनि हो । यसको विकल्प पनि छैन । र, कोरोनाकाल पश्चात केही समय नेपाली समाजको अवस्था बारे यस लेखमा केही चर्चा गर्ने प्रयास गरेको छु ।
नेपाली समाज समुह र सामुहिकतामा विश्वास गर्ने समाज हो । ठुलो परिवारमा सँगै बसोबास गर्छन् भने त्यही अनुसारको संघ/संस्था गठन छ । अब गठन भएका संघ/संस्थाहरुले हिजो जस्तो कार्यक्रम गर्न वा कार्यक्रम केही फरक तरिकाले गर्नु पर्ने बाध्यता सृजना भएको छ । संस्थागत मिटिङ तथा ससाना छलफल तथा कार्यक्रमहरु भर्चुअल रुपमा गर्न प्रयास भईरहेको छ भने यसको विकासमा जोड दिए समयको समेत सदुपयोग हुने छ । यसमा संघ/संस्थाले जति सक्षम र सुरक्षित रही कार्यक्रम गर्दछन् त्यही अनुरुप समाज र व्यक्ति स्वस्थ रहने छ । स्वास्थ्य नै जीवन हो भन्ने मुलमन्त्रमा हामी सबै सचेत रहनुपर्दछ ।
अध्ययन क्षेत्रमा पनि असर गरेको अवस्था छ । शहरी क्षेत्रमा अनलाईन अध्ययनको शुरुवात भए पनि गाउँघरमा यसको सम्भावना धेरै कम छ र कक्षा कोठामा प्रत्यक्ष अध्ययन भए जस्तो अनलाईन अध्ययन त्यति प्रभावकारिता हुँदैन भन्ने शंका अभिभावकमा रहेको छ । अनि ईन्टरनेट प्रदायक संस्थाको कमजोर अर्थात ढिलो ईन्टरनेट उपलब्धताको कारणले पनि प्रभावकारीतामा असर गर्दछ भन्ने हो तर यो शहरी क्षेत्रमा मात्र सिमित चाहिं हुन्छ । किनकी सबैसँग ल्यापटप र स्मार्ट मोबाईल हुँदैन । साथै केही टेलिभिजनहरुमा यसप्रकारको अध्यापन शुरु भएको छ यसले चाहिं दुर गाउँघरमा पनि राम्रो असर रहन्छ कि ? तर रह्यो बिजुलीको सुविधा र घरको आर्थिक स्थिति ।
यस्तै गरि व्यापार/व्यवसायहरुले पनि फरक तरिकाले आफ्नो व्यापार गर्न योजना बनाउनु पर्ने अवस्था सृजना भएको छ । सबैभन्दा सुरक्षित व्यापार चाहिं किराना पसल र तरकारी पसल नै हुने छ । र, भएका व्यापार विक्री गरि प्रायले तरकारी पसल र किराना पसलहरु खोल्ने छन् । यस्ता पसलहरु धेरै खोल्दा नाफा नहुन पनि सक्छ यसर्थ आफैले विचार गरि सचेत आफै रहनु पर्दछ ।
कोरोना कालपश्चात तत्काल पर्यटकहरु नआउने हुँदा पर्यटन व्यवसायलाई सरकारले कर्मचारीहरुलाई समुह वा परिवारमा घुम्न प्रेरित गर्न आवश्यक छ । यसो भएको खण्डमा आन्तरिक पर्यटकहरुको विकास एवम् पर्यटन व्यवसाय केही मात्रमा सुरक्षित रहने छ । यस्तै गरि मनोरञ्जन उद्योगलाई पनि कोरोनाले निकै ध्वस्त पारेको छ । नाटक, सिनेमा, व्यायामशाला, मनोरञ्जन उद्यानहरु, स्वीमिङ पुल लगायतका उद्योगहरु सबै भिडभाडसँग सम्बन्धीत हुन् तर अब यो क्षेत्रले पनि फरक योजना ल्याउनु पर्ने छ । र, सरकारले विशेष सुरक्षा दिएको खण्डमा सञ्चालन हुने पनि छ । होइन भने यस्ता व्यवसायहरु मृतप्राय सुत्ने छन् । सिनेमा निर्माणमा सहुलियत, प्रदर्शनमा सहुलियत दिएको खण्डमा सिनेमा एवम् नाटकहरु निर्माण भई प्रदर्शन हुने छ नत्र यो व्यवसायमा लागेका व्यक्तिहरुको अवस्था पनि नाजुक हुने छ ।
एउटा जातिको जनजीवनसँग सम्बन्धित रहेर मातृभाषामा चलचित्रहरु निर्माण भईरहेको अवस्थामा कोरोनाले प्रभाव पारिसकेको छ । यसबाट सुरक्षित अवतरण गर्नु भनेको सरकार र सम्बन्धित जातीय संघ/संस्थाले प्रदर्शनमा सहयोग गर्नु पर्ने अवस्था आएको छ । हुन त हिजो पनि जातीय संघ/संस्थाले सहयोग नगरेको चाहिं होइन तर अब अझ सचेतसाथ आफ्नो जातिको सिनेमा वा जातिसँग सम्बन्धीत कार्यक्रमहरु भएमा सचेत भई सहयोग प्राप्त भयो भने जातिको बारेमा अझ धेरै सिनेमा, डकुमेन्ट्रीहरु निर्माण हुने छ ।
ट्याक्सी व्यवसाय, यातायात व्यवसायलाई कोरोनाले ज्यादै प्रभाव पारेको छ । यसबारेमा पनि व्यवसायीहरुसँग छलफल गरेर यो व्यवसायलाई उकास्ने खालको योजनामा सरकारले कदम चाल्नु पर्दछ । किनकि यो व्यवसाय पनि भीडभाडसँग नै कारोबार गर्ने व्यवसाय हो ।
कृषि प्रधान देश नेपाल भएको कारण कृषि क्षेत्रलाई त सरकारको अदूरदर्शी कदमको साथै कोरोनाले प्रभाव पारेकै छ । देशमा उब्जनी भएका कृषि सामाग्रीहरुलाई बिषेश सहयोग गर्नुृ पर्ने बेला प्रदेश सरकार तथा स्थानीय क्षेत्रमा बाहिरबाट आएको कृषि सामाग्रीलाई नै रोक लगाउने कार्य भयो । कारण कोरोना सर्दछ । तर भारतबाट दैनिक ट्रकका ट्रक तरकारी चाहिं भित्र्याउने कार्य भईरहयो । यस्तो किन हुन्छ ? आफ्नोलाई पहिलो प्राथमिकता दिनु पर्ने तर भारतले जति नै क्षति गरिरहेपनि उसलाई रामायणमा रामलाई लक्ष्मणले साथ दिए जस्तो साथ दिई रहनु पर्ने ? कृषकहरुलाई यस्तो बेलामा स्थानीय सरकार र प्रदेश सरकारले घरघरमा नै पुगेर उनीहरुको कृषि सामाग्री संकलन गरि संकलन केन्द्र बनाएर बजारमा पुर्याउने कार्यमा सहयोग गर्नु पर्ने ठाउँमा ल्याएको सामाग्री नै फाल्ने कार्य भयो । किन यति अदूरदर्शी कार्य गर्न प्रेरित हुन्छौं हामी र हाम्रो सरकार ?
अलि कति विदेशको कुरा गरौं । अमेरिकामा बेरोजगार भएका र लकडाउनमा बसेका कर्मचारीलाई बेरोजगार भत्ता स्वरुप महिना/महिनामा ५ सय डलर (५५ हजार ने.रु.) खातामा जम्मा गरिदिन्छ । जापानमा चाहिं व्यवसायीहरुलाई फर्म भर्न लगाएर ५०/६० लाख ३ वर्षको लागि २ हजार तिर्ने गरि खातामा हालिदिने काम सुरु भयो । १ लाख ३० हजार भन्दा कम तलब भएका व्यक्तिहरुलाई ५०/६० हजार घर भाडा र महिनामा १ लाख उनीहरुको खातामा हालिदिने कार्य भईरहेको छ । नेपाल सरकारबाट चाहिं कृषि क्षेत्रमा क्षति भएको मध्य नजर गरि १ रोपनी बराबर ३ हजार ५ सय दिने स्थानीय सरकारको कुरा छ । त्यो पनि पाउने हुन् होइनन् थाहा छैन ।
क्याटेगोरी : विचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्