Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

राजनीतिले नेपाली जनतालाई दिएको उपहार :हात्ती आयो,हात्ती आयो फुस्सा !


कमल जाेशी\काठमाडाैं – चुनाव सम्पन्न भयो बहुमतको सरकार बन्यो नेपाली राजनीतिमा फेरि मानिसहरूले स्थिर राजनीतिको आशा गरे शक्तिशाली सरकार बन्यो । आशा पनि जाग्यो देशको परिवर्तन हुन्छ कि भनेर तर पाँच वर्षका लागि बनेको सरकार तीन वर्ष पुग्न नपाउँदै ढल्यो ।अनि नेपाली जनतालाई हात्ती आयो हात्ती आयो फुस्सा! झैँ भयो।

राजनीतिले नेपाली जनतालाई दिएको उपहार , सन्देश,दुःख,सुख सबै जे भने पनि यही हो । कुनै पनि कुरा क्षणिक हुन्छ धेरै देख्न र सुन्न नै पाइँदैन।भव्यताका साथ ल्याएको संविधानले घरघरमा उत्सव मनायो जसरी घर आँगनमा संविधान बनेकोमा दियो बले त्यसरी नै मनमा पनि सरकार प्रतिको आशाको दियो मनमा बलेको थियो । त्यो दियो त निभ्यो होला तर मनको आशाको दियोमा आहिले सरकारले पानी हालेर जनताको विश्वासलाई विचक्याएको छ ।

विगतमा जसले जे गरेपनि जति गरे पनि नेपाली जनताको स्वतन्त्र , आधारभूत अधिकार र देशको विकास लागि सङ्घर्ष, युद्ध, आन्दोलन र जनआन्दोलन गरेपनि त्यसको फल अर्थहिन भएको छ । दसकौ पछि बनेको संविधान पनि क्षणिक नै बन्यो । नेपालको संविधानमा नेपालको नियम कानुन भन्दा पनि नेता र दलको स्वार्थ लेखे हुन्छ । जस्ले जे गर्न नी पाइन्छ भने मनको र स्वार्थको संविधान लेखेर आफ्नो खल्तीमा बोके हुन्छ जति बेला चाहियो नियम बनाउनु जति बेला चाहियो नियम हटाउनु । जनताले दिएको बहुमूल्य भोटको दुरुपयोग गर्नु अनि भाषणमा जनताको सरकार जनताका लागि गर्छ भनेर जनता माथि नै दमन गर्न यो गल्ती बिनाको सजाय जस्तो भएको छ ।

प्रष्ट रुपमा देखिने कुरालाई भनी राख्न जरूरत हुँदैन नेपाली राजनीतिमा जे पनि सम्भव छ भन्ने कुरा विगतमा स्पष्ट नै छ । अहिलेको राजनीतिक परिवर्तन नयाँ कुरा हैन तर अहिलेको जनताले देखको राजनीति परिवर्तन भने नौलो छ । मैले देखेको राजनीति परिवर्तन फरक छ , अहिलेको पुस्ताका युवाले देखेको परिवर्तन नयाँ छ । नयाँ पुस्ताले चाहेको परिवर्तन पनि नयाँ हुनै पर्छ यदि पुरानै शैली अहिलेको राजनीति गर्ने युवाले सिखे भने फेरि उही राजनीतिको भुमरीमा देश फस्ने छ ।

जनताले विश्वास गरेर बहुमत दिएको सरकारलाई जनताको चाहना र हित विपरीत संसद विघटन गर्नु कतिको उचित भयो । सुखी नेपाली सम्वृद्ध नेपालको सपना बोकेर हिँडेको सरकार जनताका लागि केही गर्छ की भन्ने आशा सबैमा फेरि एकचोटि जीवित भएको थियो ।

सबै नेपाली जनताको आशालाई कुल्चिने निरंकुश, निरहि , स्वार्थी सरकारलाई आफ्नो आशा , इच्छा , पद र कुर्सीलाई मात्र जीवित राख्न यदि हद सम्मको लाचार काम गर्न पनि सफल हुनुमा हामी जनता चाहिँ असफल भयौं , हाम्रो सोच असफल भयो , हाम्रो देशको बिकाश असफल भयो , हाम्रो नियम , कानुन देखि संविधान नै असफल भयो !अब बाँकी क बच्यो ?

कयौं देशमा जनता सफल बनाउन सरकार असफल भए तर हाम्रो देशमा सरकार सफल बनाउन जनता असफल हुनुपर्छ। कुनैपनि देशमा परिवर्तन आवश्यकताको आधारमा हुन्छन् तर हाम्रो देशमा आवश्यकताका आधारमा हैन स्वार्थका आधारमा परिवर्तन हुन्छ । जनताको विपरीत हुने परिवर्तन यो कस्तो परिवर्तन भयो ? जनताको जीवन परिवर्तन हुनुपर्ने ठाउँमा सरकार परिवर्तन हुन्छ भने सरकार के लागि जनताका लागि की आफ्नो स्वार्थका लागि हो ? हामीले कसलाई के परिवर्तन गर्न दियौँ र के परिवर्तन भयो र हामी कति परिवर्तन भयौं । अब पनि यो सोचेन भने तपाई हामीले सरकारको आलोचना गर्न छोडिदिनु पर्दछ हैन भने बोल्ने सरकारलाई काम गरेर देखाउनु पर्छ । अब परिवर्तन सरकारको गर्ने की आफ्नो गर्ने ? अबको परिवर्तन हाम्रा लागि ठूलो अवसर नै हो । अबको देशको परिवर्तन हाम्रो औँठा छापमा छ ।छाप राम्रो ठाउँमा लागोस् देशको मुहार फेरिएको हेर्न पाइयोस् ।

जनताले देशको विकास लागि , जनताको अधिकारका लागि ,समाज परिवर्तनको लागि , भ्रष्टाचार विरुद्धको लागि ,पीडित समुदायको न्यायको लागि सडकमा आन्दोलन गर्दा बल लगाएर , लठ्ठी प्रहार गरेर र जनता माथि दमन गर्ने मान्छे नै आजभोलि सडकमा देखिन्छन् मात्र आफ्नो पद गुम्ने डरले आफ्नो स्वार्थ पूरा गर्नलाई नाकी जनताका लागि हैन त्यो भ्रममा नपरे हुन्छ । जनताले आफ्नो स्वार्थका लागि हैन पुरै देश र जनताका लागि गर्दा जनताले सरकारको दमन सहनु पर्छ सुरक्षाकर्मीको दमन सहनु पर्छ तर जसले आफ्नो स्वार्थका लागि तिनै सुरक्षाका साथ सडक आन्दोलन गर्दा कसले दमन गर्ने उल्टै सुरक्षाका साथ आन्दोलन गर्दै छन् त्यो जनताका लागि भए जनताले गर्ने आन्दोलनलाई किन दमन गर्थे यति त हामी बुझ्न सक्छौं कि त्यो आन्दोलन देश र जनताका लागि हैन केवल आफ्नो स्वार्थका लागि मात्र हो ।

आखिरमा आफ्नो माग पूरा भएन भने अन्तिम विकल्प भनेको सडक नै रहेछ भन्ने कुरा प्रष्ट रूपमा देखिएको छ ।अब थाहा भयो होला सडकमा किन आउनु पर्दो रहेछ हिजो जनता आउँदा संसदबाट जनताको मतलब नै नगरी बल प्रयोग गरेर दमन गर्दा कस्तो हुँदो रहेछ । जनता दलको जस्तो स्वार्थ का लागि हैन बरु देश र जनताको विकास लागि सडकमा आउँछन्।सडकमा आउनु रहर हैन बाध्यताले हो र सबैको बाध्यता एकै हुँदैनन्।

फेरि ताली बजाउनेको कमी छैन , बोल्नेको त नेपालमा कहिले पनि कमी हुँदैन होला । यति झुटो बोलेर देशलाई पछाडि धकेल्ने को बोलीलाई ताली बजाउने मान्छे अझै हाम्रो समाजमा धेरै छन्।जबसम्म ताली बज्न रोकिँदैन तबसम्म नेताको झुटो बोली बन्द हुँदैन ।

अहिले फेरि जनताको घर दैलोमा हराएका नेताहरुका मुहार देखिन थालेका छन्। दुई हात जोड्दै नमस्कार गरेर हामीलाई भोट दिनुहोस् भन्नलाई अब हामीले पनि हात जोड्दै तपाईको मुहार देखेको धेरै भो अब फेरि हेर्न मन छैन् र धेरै झुट पनि सुन्नु छैन् भन्नु पर्ने छ ।अबको हाम्रो परिवर्तन देशको परिवर्तन हाम्रो सोचमा निर्भर हुने छ । हामीले अब कस्तो नेतृत्व हामीलाई चाहिएको छ भनेर सोच्ने बेला आएको छ।

देश हाम्रो हातमा छ हामी हाम्रो देशको मुहार फेर्न सक्छौं भने हामी किन नेताको भ्रममा परेर फेरि उही अवस्थामा जाने , यो अवसरलाई हामिलाई गुमाउनु हुँदैन र गुम्नु पनि दिनु हुँदैन ।

 


क्याटेगोरी : विचार

तपाईको कमेन्ट लेख्नुहोस्