तीज (भदौरे उत्सव)

-डा. मीन श्रीस मगर
परिचय
खासगरि वर्षान्त र हिउँदको प्रारम्भमा मनाइने चाडवाडहरू नारीसँग सम्वन्धित पाइन्छन् । तीज, दसै र तिहार नारी महिमासँग जोडिएका छन् । नेपाली समाज कृषि युगमा प्रवेश गरेपछि घरधन्धाका साथै खेतीपातीको काममा समेत नारीहरूको व्यस्तता र महत्व बढ्न गयो । वर्षेवाली (मुख्य वाली) लगाउने समयमा नारीहरू थप व्यस्त हुनुपर्ने भएकाले नै उनीहरूको सम्मानमा यस्ता चाडवाडहरू मनाउने परम्पराको विकास हुन गयो । भाद्र शुक्ल द्वितीयामा माइतीले छोरीचेलीहरूलाई बोलाएर मिष्ठान्न भोजन सहित सत्कार गर्दा उनीहरू खुशी र उमङ्गले गाउने नाच्ने अनि कात्तिक शुक्ल द्वितीयामा नारीहरूले आफ्ना माइती अर्थात दाजुभाइलाई टीकामाला सहित मिष्ठान्न भोजनले सत्कार गर्दा दिदीवहिनी तथा दाजुभाइहरू उमंगका साथ देउसी भैलोमा रमाउने नेपाली परम्परा प्राचीन कालदेखि नै चलिआएको मानिन्छ ।
वर्षेवाली लगाउने कामले थकित नारीहरू कामको चटारो कम भएपछि केही दिन माइतीमा गएर विश्राम लिने चलनबाट नै तीज जस्ता भदौरे उत्सवहरू मनाउने चलनको विकास भएको हो । तीजको मूल मर्म खेतीपाती, घरधन्धा, झरीवादल अनि गर्मीको चाप र तापका कारण शिथिल तन र मनलाई पुनर्ताजगी (Refreshment) प्रदान गर्नुका साथै माइतीमा केही दिन बिताएर बाल्यकालका साथीहरूसँग भेटघाट रमाइलो गर्नु तथा आमा र भाउजुको हातबाट बनेका मीठोमसिनो खानुसँग जोडिएको हुन्छ । त्यसैले “तीजको खाजा मीठो भदौरे गाभाले, मलाई लिन आउँछन् बरै मेरो बावाले” जस्ता गीत गाएर माइतीमा भेला भएका दिदीवहिनीहरू नाच्ने गर्दछन् । तीजको सामाजिक सांस्कृतिक महत्व माइतीमा दर खाने एवं बालसखीहरूसँगको भेटघाट र नाचगानसँग विशेष रुपमा गाँसिएको छ । त्यसकारण आमरुपमा तीज भनेर भाद्रशुक्ल द्वितीया र तृतीयाको दिनलाई बुझ्ने गरिन्छ ।
तीज मनाउने शैलीगत विविधता
नेपाली समाज भौगोलिक, जातजातीय तथा सांस्कृतिक विविधताले सजिएको सुन्दर फूलवारी हो । त्यसैले हाम्रा चाडवाडहरू अन्तरघुलन, समन्वय, सहिष्णुता र भातृत्वका रंग एवं सुवासनाले भरिएका छन् । पश्चिम नेपालका पहाडी भू-भागमा बसोबास गर्ने मगर समाजमा तीजलाई विशुद्ध सामाजिक एवं सांस्कृतिक चाड मान्ने गरिन्छ । भाद्र द्वितीयाका दिन दर खाने र तृतीयाका दिन नाचगानका साथ समापन गरिने यो चाडको प्रारम्भ एघार दिन अघि नै गरिन्छ । ग्यारी शेफर्ड (सन् १९८२) का अनुसार विवाहित महिलाहरूले भदौं महिनामा एघार दिनसम्म झोरा गाउने र नाच्ने गर्दछन् । तीजको दिनमा समापन गरिने झोरा गीतको विषयवस्तु राम्रो लुगा र मीठो खानासँग सम्वन्धित हुन्छ । झोरा समापनको दिन युवाहरूले महिला र केटीहरूलाई केरा र दही खान दिन्छन् । यसको सट्टा केटीहरूले दसैंमा युवाहरूलाई खानपिन गराउँदछन् (पृ. २६०) । केशरजंग बराल मगरका अनुसार मगरहरूले तीजको गीतलाई झोरा भन्ने गर्दछन् । मगर महिलाहरू तीजमा आफ्नै संस्कृतिमा आधारित झोरा नाच्ने गर्दछन् । गुरु परम्परा र निश्चित कथा बस्तुमा आधारित झोराका गुरुमाहरूको मृत्युपछि नयाँ पुस्ताले निरन्तरता दिन चासो नराख्दा झोरा लोकगीत नृत्य लोप भएर गयो (पृ. ११७-११८) ।
हिमाली जिल्ला डोल्पाका साथै रुकुम र रोल्पा भेगका मगर समाजमा भने झोरा गाउने र नाच्ने चलन अझै पनि पाइन्छ (मगर अध्ययन केन्द्र, २०६३:१८)। पाल्पा-स्याङ्जातिरबाट दाङमा बसाई सरेका मगरहरूले पनि झोरा संस्कृतिलाई निरन्तरता दिइरहेको पाइन्छ । तीस चालीस बर्ष अघिसम्म स्याङ्जाका मगर गाउँमा साउने संक्रान्तिको साँझ महिलाहरूले हात र खुट्टामा तिउरी लगाउँदै झोरा गाउन प्रारम्भ गर्दथे । साउने संक्रान्तिबाट प्रारम्भ भएको झोरा गाउने र नाच्ने काम भाद्र शुक्ल तृतीया अर्थात तीजको दिन समापन गरिन्थ्यो । यसरी मगर गाउँहरूमा तीजलाई विवाहित छोरीचेलीहरू माइतीमा भेला भएर मीठोचोखो खाने तथा झोरा गाएर नाच्दै रमाइलो गरी मनाउने सांस्कृतिक चाड अर्थात चेली चाडको रुपमा मनाउने गरिन्छ । तीजमा माइतीले छोरीचेलीलाई बोलाउनै पर्ने र दसैंमा छोरीचेलीहरू माइतीले नबोलाए पनि माइत आउनै पर्ने परम्परा बनेको छ । आफ्ना छोरीचेली नभएकाहरूले पनि नाताले छोरीचेली पर्नेहरूलाई भए पनि एक रात बस्ने गरी बोलाएर तीजको खाजा (भिजाएको चामललाई घ्युमा भुटेर बेसार राखी पकाएको परिकार), बटुक (बारा), सेलरोटी, मासुका परिकार तथा फलफुल खुवाउने र सुखदुःख एवं घर-व्यवहारका कुराकानी गर्ने चलन रहिआएको छ । छोरीचेली माइती जाँदा रोटी, रक्सी र अन्य परिकारको पाहुर लिएर जाने चलन पाइन्छ ।
सुदुर पश्चिमको पहाडी समाजमा भाद्र शुक्ल पञ्चमीका दिन गौरा चाडको प्रारम्भ गरिन्छ । त्यस अवसरमा महिलाहरूले निराहार ब्रत बसी नदी, तलाउ, धारा, पधेराँमा स्नान गरी सगुन गाउँदै गौराघरमा बिरुडा (गहुँ, केराउ, गहत, मास र गुराँस) भिजाउँछन् । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ । काठमाडौ उपत्यकामा जनैपूर्णिमामा क्वाँटी खाने चलन भए झैं सुदूरपश्चिमी समाजमा गौरा चाडको अवसरमा बिरुडा पकाएर खाने चलन छ । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरादेवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा चाड मनाइन्छ । भाद्र शुक्ल सप्तमीका दिन महिलाहरूले खेतबाट कुश, दुबो, धान, काँस र साउँको विरुवा ल्याई सज्जा (विशेष प्रकारको सामग्री) बनाउँछन् । अठेबाली (अष्टमी) का दिन निराहार व्रत बसेका महिलाहरू बिरुडाका भाँडा लिएर खलो (गौरा खेल्ने स्थान) मा गएर नाचगान सहित गौरा चाड समापन गर्दछन् (उपाध्याय २०७१:१) । यो चाड सुदूर पश्चिमी पहाडी समाजका अतिरिक्त भारत उत्तराखण्डको कुमाउँ गढवालतिर सबैभन्दा ठूलो उत्सवको रुपमा मनाउने गरिन्छ ।
मध्य र सुदूर पश्चिम नेपालका तराई क्षेत्रका थारु महिलाहरूले तीज मनाए सरह ‘सावनी डोला’ मनाउने गर्दछन् । असारको तृतीयादेखि साउनको तृतीयासम्म एक महिनाभरि विवाहित र अविवाहित महिलाहरू एकै थलोमा भेला भएर गीत गाउँदै पिङ खेल्दछन् । साउन तृतीयाका दिन दिदीवहिनीहरूले आफ्ना श्रीमान् वा दाजुभाइहरूको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्दछन् । यो चाडको समापनमा महिलाहरू नदीमा गएर झुरकी सेलाउने र पूजापाठ गरी सिमही खाने खुवाउने गर्दछन् । झुरकी सेलाउने क्रममा महिलाहरूले नदीको वगरमा उम्रेका काँसमा एकहातले गाँठो पार्ने चलन छ । विवाहिता महिलाले सात र अविवाहित महिलाले पाँच गाँठो पारेर पूजाआजा गरी चाँदीको सामग्रीले काटेर नदीमा सेलाउने गरिन्छ । यसरी नदीमा सेलाउने काँसको गाँठोलाई झुरकी भन्ने गरिन्छ । त्यस पछि सिमही, पुरी, गुलगुला जस्ता परिकार खाने गर्दछन् (चौधरी, २०७१:२) । नेवार समुदायमा ऋषिमञ्चमीको दिनलाई “कोखजा विये” भनिन्छ र बुँसाकी चाहिन्छ । यसको अर्थ कोखपूजा हो । लिम्बुहरूले पनि तीजकै समयमा कोखपूजा मनाउँछन् (सौरभ, २०६९: ७)।
पश्चिम नेपालका बाहुन-क्षेत्री लगायत हिन्दु समुदायमा तीजलाई सामाजिक तथा सांस्कृतिकभन्दा पनि धार्मिक महत्वका साथ मनाउने गरेको पाइन्छ । भाद्र शुक्ल द्वितीयको दिन माइती गएर दरखाने, तृतीयाका दिन निराहार ब्रत बसेर नाचगान गर्ने तथा साँझ शिवजीको पूजाअर्चना गर्ने र पञ्चमीका दिन सप्तऋषीको पूजा गरी समापन गर्ने चलन रहेको छ । विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार पर्वत राजा हिमालयकी छोरी पार्वतीले शिवजी जस्ता शक्तिशाली पति पाउन निराहार व्रत बसेकी थिइन् । पार्वतीले तपस्या गर्दागर्दै शिवजीलाई पतिका रुपमा पाएपछि उनले आफ्ना सहयोगी साथीहरूलाई भेला गराई भोज खुवाएकी थिइन् भन्ने विश्वासका आधारमा हिन्दु महिलाहरूले तीजको दिन निराहार व्रत बस्ने, गीत गाउने र नाच्ने गरेको पाइन्छ । हिमालयले पार्वतीलाई भगवान विष्णुसँग विवाह गराइदिन तयारी गरेको अवस्थामा तालिका (पार्वतीकी सँगिनी) ले पार्वतीलाई हरित गरेर (अपहरण गरेरर भगाएर) लुकाउन लगेपछि निराहार बसेर इच्छाएको व्यक्ति शिवजीलाई पतिका रुपमा पाएकाले यस्तो व्रतोत्सवलाई हरितालिका भनिएको कथन पनि पाइन्छ ।
तीजको अवसरमा अविवाहित नारीले व्रत लिएमा सुयोग्य वर पाउने र विवाहितले व्रत लिएमा पति दीर्घायु र सुस्वास्थ्य हुनुका साथै वैवाहिक जीवन सुमधुर रहन्छ भन्ने मान्यता पाइन्छ । तीजको व्रत समापन गर्दा पञ्चमीका बिहानै महिलाहरु नजिकैको नदी, खोला, ताल र पोखरीमा गई ३६५ दतिवनले दाँत माझेर गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर अरुणधति सहित सप्तऋषिहरु अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा आराधना गर्दछन् । त्यसपछि नरोपी उम्रेका अन्न, समा, कागुनो, कन्दमूल र कर्कला आदि खाने चलन छ । भविष्य पुराणका अनुसार रजस्वला भएका अवस्थामा जानीनजानी भए गरेका पापजन्य कार्यबाट मुक्तिका लागि महिलाहरूले पञ्चमीका दिन सप्तऋषिको पूजा गर्ने चलन रहेको हो ।
तीज वा हरितालिका भारतका विभिन्न स्थानहरूमा पनि मनाइन्छ । महाराष्ट्र, गोवा, कर्नाटक, केरला, तमिल्नाडु र आन्ध्रप्रदेशमा “हरितालिका” “ते” र “तायी” चाडका रुपमा मनाइन्छ । भारतको पञ्जाव, गुजरात, छत्तिस गढ, झारखण्ड, महाराष्ट्र, उत्तरप्रदेश, चण्डीगढ, दिल्ली, मध्यप्रदेश, राजस्थान र विहारमा विभिन्न शैलीमा यो चाड मनाइन्छ । खासगरी मारवाडी र बाँनिया समुदायका लागि बढी महत्व रहेको पाइन्छ । हरियाणा र जयपुरमा महिलाहरूले व्रत बस्ने, पार्वतीको प्रतीमा पालकीमा राखेर घुमाउने, नृत्य एवं संगीतमा झुम्दै मीठोमसिनो खाने र पिङ खेल्ने गर्दछन् । मारवाडी समुदायमा सासुले नयाँ बुहारीलाई पहिलो तीजको उपहार स्वरुप एक सेट गरगहना दिने र सो गहना लगाएर बुहारी गुलियो नुनिलो मिठाई सहित माइत जाने चलन पाइन्छ ।
भारतमा तीन खाले तीज मनाउने गरिन्छ । साउन शुक्लपक्षमा दूध दही र फूलले चन्द्रमाको पूजा गरी “हरियाली तीज”, कृष्णपक्ष तृतीयामा “कजारी तीज” र भाद्र शुक्लपक्ष तृतीयामा “हरितालिका तीज” मनाइन्छ । यी तीन मध्ये हरितालिका तीज सबभन्दा ठूलो हो । यस अवसरमा माटोले बनाइएको शिवपार्वतीको प्रतीमा अगाडि बसेर उत्साह र उमंगका साथ बिहानैदेखि भजन गाउने गरिन्छ । विवाहिताले श्रीमानको दीर्घायु र सुस्वास्थका लागि तथा अविवाहिताले इच्छाएको वर पाउन यो चाड मनाउने धार्मिक आस्था रहेको छ । घरघरमा घ्यू र पीठोले बनेको घेभर, बर्मिसेली, दालबाती, मालपुवा र खिरपुरी पकाउने तथा हरिया लुगा, हरियै चुरा, हातभरि मेहन्दी र गरगहनामा सजिएर छोरीचेली माइत जाने चलन रहेको पाइन्छ ।
निष्कर्ष
तीजलाई वर्षे वाली लगाउने काम सकेपछि अर्थात वर्षा यामको अन्ततिर मनाइने महत्वपूर्ण उत्सवको रुपमा लिइन्छ । वर्षे बाली नै मूख्य बाली भएकाले नियमित घरधन्दामा संलग्न हुनुपर्ने महिलाहरूलाई नै वर्षा याममा अतिरिक्त कामको बोझ थपिन्छ । त्यसकारण शारीरिक तथा मानसिक रुपमा थकित महिलाहरूका लागि केही समय विश्राम र मनोरञ्जनको आवश्यकतालाई ध्यानमा राखेर नै नारी चाडको रुपमा तीज उत्सव मनाउने परम्पराको थालनी भएको बुझिन्छ । प्रारम्भमा कृषिमा आधारित विशुद्ध सांस्कृतिक चाडको रुपमा विकास भएको तीजले समयक्रमसँगै धार्मिक मान्यताहरूलाई पनि ग्रहण गरेको पाइन्छ ।
खासगरी नेपाल र भारतका हिन्दु समुदायमा तीजलाई धार्मिक चाडको रुपमा व्रत, पूजाआजा र नाचगानको साथ मनाउने गरिन्छ । यद्धपि यो चाडलाई सबै हिन्दु समुदायमा एकै नाम, शैली र तिथिमा मनाउने गरिएको पाइदैन । धार्मिक दृष्टिले गौरा र तीज समान भए पनि मनाइने समय र शैलीमा भिन्नता पाइन्छ । मगर समाजमा मनाइने तीजमा धार्मिकभन्दा पनि समाजिक र सांस्कृतिक महत्व रहेको छ । माइतीले आफ्ना विवाहित छोरीचेलीलाई बोलाएर मीठोचोखो खुवाएर सम्मान दिने वा सम्झने उत्सव हो । माघे संक्रान्ति र साउने संक्रान्ति पनि माइतीले छोरीचेलीलाई सम्झने चाड भए तापनि तीजको महत्व फरक छ । तीजसँग छोरीचेलीका मनका भावनाहरू झोरा, तिजे, देउडा आदि लोकभाकाहरूका माध्यमहरुबाट मुखरित हुन्छन् र उमङ्गमा छमछमी नाच्दछन् ।
तीज नेपाली समाजको चिनारी र अमूल्य निधि भएकाले यसको मौलिक परम्परामा आघात पुग्ने काम हुनु हुँदैन । “तीज” शब्दले कुनै धर्म वा सम्प्रदायलाई नबुझाएर भाद्र शुक्ल तृतीया तिथि अर्थात समयलाई बुझाउँदछ । तृतीया तिथिमा मनाइने उत्सव भएकाले नै तीज भनिएको हो । पछिल्ला केही वर्षमा तीज मनाउने शैली निकै भड्किलो र खर्चिलो बन्दै जान थालेको छ । होटल वा पार्टी प्यालेसमा दर खाने बहुमूल्य वस्तु प्रदशर्न गरी सामूहिक तीज मनाउने प्रवृतिले यसको ऐतिहासिकता र मौलिकतालाई समाप्त पारेको छ । तीजको मौलिक र परम्परागत भाकाहरू र शब्दहरूलाई दोहोरी शैलीका झाम्रे, रत्यौली वा पश्चिमा र आधुनिक गीतका भाका र शब्दहरूले विस्थापित गर्दै लगेको छ । तीज छोरीचेलीको चाड भएकाले उनीहरूले आफ्नै भावना र मर्महरू झोरा वा तिजे भाकाहरूमा अभिव्यक्त गर्नु र नाच्नु परम्परा र मौलिकता हो ।
अर्कोतर्फ तीजको धार्मिक पक्षलाई मात्र महत्व दिएर तृतीया र पञ्चमीका दिन सरकारी विदा दिएर जागिरे महिलाहरूलाई द्वितीयका दिन माइत गएर दरखाने अवसरबाट वञ्चित गराउनु उपयुक्त देखिदैन । यसैगरी चाडबाडहरूलाई जाति र धर्मको रंग दिन खोज्नु संकीर्णता र अज्ञानता मात्र हो । सांस्कृतिक संक्रमण (Acculturation) र प्रविधिकरणका कारण नेपाली संस्कृतिमा देखापरेका परिवर्तन र परिमार्जनहरूलाई पनि बुझ्न सक्नुपर्छ । सम्मिलन, अन्तरघुलन र समन्वयात्मक प्रक्रियाबाट साझा नेपाली संस्कृति निर्माण भएको यर्थाथतालाई सम्मान गर्न जान्नुपर्छ ।
सन्दर्भ सामाग्री-सूची
उपाध्यय, लक्ष्मीप्रसाद. (२०७१ भाद्र १७). आज धुमधामसँग गौरापर्व मनाइँदै. गोरखापत्र, पृ. १ ।
चौधरी, अविनाश. (२०७१ साउन २२). थारु महिला मनाइरहेछन् सावनकी डोली. गोरखापत्र, पृ. २ ।
बराल मगर, केशरजंग. (२०५०, पुनः मुद्रण २०६८). पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति. काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
मगर अध्ययन केन्द्र. (२०६३). अठार मगराँतका मगरहरूको सांस्कृतिक संस्कारहरू तथा धार्मिक आस्था सम्बन्धि अध्ययन (अप्रकाशित अध्ययन प्रतिवेदन)। ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
श्रीस मगर, मीन. (२०७५). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
सौरभ. (२०६९ असोज १). तीज बहिस्कार रु. कान्तिपुर, पृ. ७ ।
Shepherd, Gary. (1982). Life Among the Magars. Kathmandu: Sahayogi Press.
क्याटेगोरी : विचार
तपाईको कमेन्ट लेख्नुहोस्