Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

दर्मिजा तातोपानीमा स्नान पोखरी निर्माण सम्पन्न


म्याग्दी

म्याग्दी रघुगंगा गाउँपालिका ४, दर्मिजामा तातोपानी बस्न जाने व्यक्तिहरुको सुविधाको लागि स्नान गर्न मिल्ने पोखरी निर्माण सम्पन्न भएको छ ।

दर्मिजा गाउँको फेदमा रहेको रघुगंगा नदीको किनारमा रहेको मुहानबाट निस्कने प्राकृतिक तातोपानीमा डुब्दा विभिन्न रोग निको हुने विश्वास गरिन्छ । यस अगाडि सानो पोखरी रहेकोमा जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी निर्माण भएको जानकारी उपभोक्ता समितिका अध्यक्ष बिप्रसाद पुनले दिनुभयो । एउटा पोखरीमा २० जना र अर्कोमा १० जना क्षमताको पक्की पोखरी निर्माण भएको छ । यो पोखरी निर्माण गर्न जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयले ३५ लाख सहयोग गरेको थियो । कोरोनाको जोखिमको बेलामा पनि स्थानीय मजदुर परिचालन गरि पोखरी निर्माण भएको अध्यक्ष बिप्रसाद पुनले बताउनु भयो ।

५० डिग्री सेल्सीयस भन्दा बढी तातोपानी निस्कने मुहान यहाँ रहेको छ । सो मुहानको पानी संकलन गरे छाला सम्बन्धी रोग, चोटपटक, बज्रिएको, सुन्निने जस्ता समस्याहरु निको हुने विश्वास छ । यहाँ स्नान गर्न आउने पाहुना तथा पर्यटकहरुलाई बस्न मिल्ने स्थानहरुको निर्माण पनि यस अगाडि भईसकेको कुरा स्थानीय युवा सुविन शेरपुञ्जाले बताउनु भयो । यस पोखरीको नजिक एउटा आर्कषक झरना समेत रहेको छ । गण्डकी प्रदेश सांसद विनोद केसीको पहलमा यो योजनाको लागि बजेट विनियोजन भएको हो ।

यस स्थानलाई सुरक्षित राख्नको लागि अहिले तटबन्धको कार्य समेत भईरहेको जानकारी अध्यक्ष पुनले दिनु भएको छ ।


क्याटेगोरी : अन्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्