Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

रमाईलो टिकटक देखि राहत कोषनिर्माण सम्म, मगर पेज तथा ग्रुपहरु -भिडियो सहित


काठमाण्डौ

पछिल्लो समय सामाजिक सञ्जालका माध्यामहरु दैनिक जिवनकै अभिन्न अंगकै रुपमा स्थापित हुदैँ गएको छ । अझै पछिल्लो समय कोरोना भाइरसको विश्वव्यापी माहामारीको यो लकडाउनको समयमा त यसको प्रयोग अझै ह्वात्तै बढेको छ ।

यहि समयमा सामाजिक सञ्जालहरुमा नकारात्मक खाले गतिविधि तथा अफवाह पनि नदेखिएका होइनन् । तर सकारात्मक, रचनात्मक तथा अनुकरणिय कार्यहरु पनि यस्ता सामाजिक सञ्जालहरुका पेज तथा ग्र्रुपहरुका माध्यामबाट गरिएको पनि उत्तिकै रुपमा देख्न सकिन्छ । यसै क्रममा मगर जातिका भाषा, कला संस्कृति तथा मगर जातिको उत्थान सँगै मनोरञ्जनका लागि स्थापित सामाजिक सञ्जालका यस्ता पेजहरुले समेत विभिन्न मनोरञ्जनात्मक देखि रचनात्मक अनुकरणिय गतिविधिहरु सञ्चालन गर्दै आएका छन् ।

जस्तै, भर्खरैमात्र मगर गुमष्ठा, मगरको काट छान्म नुङ्के लाम नामको फेसबुक ग्रुपले सामाजिक सञ्जालबाटै लोककथाहरु खोज्ने प्रतियोगिता सम्पन्न गरेको छ । मगर समुदाय भित्र रहेका विभिन्न लोककथाहरु खोजेर विश्वभरि छरिएर रहेका मगर प्रतियोगीहरु सहभागी भएका थिए । यस प्रतियोगिताले मगर जाति भित्रका विभिन्न इतिहास, संस्कृति, कला, भाषा तथा सभ्यताहरुलाई बोकेको लोक साहित्यहरुको उजागर तथा संरक्षण गर्नमा झकझकाएको मगर चलचित्रकर्मी तथा मगर आदिकवि जितबहादुर सिंजाली मगर प्रतिष्ठानका अध्यक्ष, साथै सोहि लोककथा प्रतियोगिताको मुल्याङ्कनकर्ता समेत रहेका सञ्जोग लाफा मगरले बताएका छन् ।

यस्ता पेज तथा ग्रुपहरुले मौलिक भेषभुषा प्रतियोगिता, भाषा संरक्षण तथा विकास, प्रतिभा प्रस्फुटन, मनोरञ्जनात्मक देखि खोजमुलक तथा सामाजिक दुखसुखमा समेत सहकार्य गर्दै आएका छन् ।
दुबै मिर्गौला खराबी भई बिरामी भएका लालु माया घर्ती मगरलाई ९ लाख ९ हजार ८८ रुपैयाँ रकम भर्खरै मात्र २० हजार जति मेम्बर रहेका यसै मगर गुमष्ठा मगरको काट छान्म नुङ्के लामले संकलन गरि सहयोग गरेको पेजका संस्थापक केशव खाम्चा मगरले जानकारी दिए ।

उता, हालसम्म २ लाख ३५ हजार जना जोडिएको मगर संसार फोटो ग्यालरीले समेत मगर जातिबारेमा विभिन्न मनोरञ्जनात्मक टिकटक प्रतियोगिता, फोटो प्रतियोगिता देखि मगर राहत कोष निर्माण सम्मको गतिविधि सञ्चालन गरेको छ । ग्रुपको गतिविधिहरु नियाल्दा, खाली समयलाई कटाउने सामान्य प्रतियोगिता देखि, विभिन्न खाले प्रतिभा प्रस्फुटन प्रतियोगिता, भाषा, कला, साहित्य, संस्कार, संस्कृतिको जर्गेना, बहस तथा अन्र्तक्रिया, हक अधिकारको लडाईमा ऐक्यवद्धता देखि विभिन्न आपत विपद्मा राहत देखि जिवन मरणको दोसाँधमा रहेकाहरुको जीवन फकाईदिने सम्मका सहयोगहरु समेत गरेको छ ।
यस मगर संसार फोटो ग्यालरी ग्रुप पेजले क्वीज, चित्रकला, लोक गायन, नृत्य, वक्तृत्वकला, भेषभुषा फोटो देखि भाषा तथा कला संस्कार संस्कृति तथा इतिहास सम्वन्धी विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । त्यस्तै, विभिन्न समयमा विभिन्न क्षेत्रका अग्रज तथा विज्ञहरु साथै विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समेत प्रत्यक्ष रुपमा आफ्ना पेजमार्फत विचार, अनुभव तथा ज्ञानहरु समेत बाँडिरहेको छ ।

विभिन्न समयमा आपत विपद् तथा विरामी परेका व्यक्तिहरुलाई सानोतिनो सहयोग जुटाउँदै सहयोग गर्दै आएको यस मगर संसार फोटो ग्यालरीले केहि समय अगाडि मात्र दिगो रुपमा मगर राहत कोष स्थापनार्थ सहयोग संकलन अभियान सञ्चालन गरेको थियो जसबाट १० दिन भित्रमा नै करिब १० लाख रकम संकलन भएको छ । साथै, उक्त कोषमा सहयोग गर्न चाहनेहरुका लागि सधै खुला रहने र कोषको सहयोगार्थ रकम संकलन क्रम जारी रहेको र सहयोग अझै जुट्ने क्रममा रहेको पेजका संस्थापक अनिल लामिछाने मगरले बताएका छन् ।

यस्तै, सामाजिक सञ्जालमा मगर कम्युनिटि, मगर पव्लिक ग्रुप, मगर लाफा ग्रुप, मगर परिवार आदि जस्ता विभिन्न ग्रुप तथा पेजहरु निर्माण भएर सामाजिक सञ्जालमा विभिन्न मनोरञ्जनात्मक देखि विभिन्न जनचेतनामुलक तथा रचनात्मक गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । यस्ता पेज तथा ग्रुपहरु विश्वभरि छरिएर रहेका साथीभाई आफन्तहरुमा हालखवर बुझ्ने देखि कतिपय प्रतिभाहरुको लागि आफुलाई उजागर गर्ने र अगाडि बढ्नको लागि पनि एउटा खुल्ला प्लेटफर्मको रुपमा स्थापित भएका छन् भने दुःख सुख विसाउने चौतारी समेत बनेको छ ।

यस्ता खाले गतिविधिहरु आफैमा राम्रो छ यद्यपी सामाजिक सञ्जालमा यस्ता ग्रुप तथा पेजहरुका गतिविधिहरु सञ्चालन गर्दै गर्दा दैनिक जिवनका अन्य महत्वपुर्ण कुराहरुमा नकारात्मक असर पर्ने साथै क्षणिक प्रसिद्धिका कारण उत्पन्न समस्याहरुको समेत असर पर्न जान्छ भने व्यक्तिगत जिवनका अन्यकुराहरुमा पनि कहिँ कतै नकारात्मक प्रभाव समेत पर्न सक्ने हुदाँ त्यता तर्फ  पनि सचेत हुदै यस्ता गतिविधिहरु सञ्चालन गर्न सके अझै फलदायी हुने देखिन्छ ।

भिडियोलाई मगर म्युजियम युट्युव च्यानलबाट साभार गरिएको हो ।


क्याटेगोरी : अन्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्