Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

पछिल्लो २४ घण्टाको कोरोना अपडेट, संक्रमणबाट मृत्युको संख्या ३०० पुग्यो


काठमाण्डौ

पछिल्लो २४ घण्टामा थप ९७९ जनामा नोभेल कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९७९ संक्रमित थपिएको जानकारी दिए ।

जसमध्ये काठमाडौं उपत्यकाका ३२६ जना रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा २९३ जना, भक्तपुरमा १३ जना र ललितपुरमा २० जनामा कोरोना संक्रमण देखिएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३० हजार ६७७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार २१८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ७७ हजार ५६३ पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ६९ जना र होम आइसोलेसनमा ७ हजार १९० जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७३९ जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर २० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

त्यस्तै, नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्