नेपालजस्ता गरिब देशहरुलाई कोभिड १९ विरुद्ध खोप किन्न युनिसेफले सहयोग गर्ने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को महामारीले हाल सम्म झण्डै ९ लाख मानिसको ज्यान लिईसकेको छ । यसरी संसार भर फैलिएको कोरोनाभाइरस महामारीको अन्त्य गर्ने ठानिएको प्रभावकारी खोप बजारमा आउनेबित्तिकै विश्वभरि आपूर्ति गर्न त्यसमा पनि नेपाल जस्ता गरिब देशहरुका लागि अझ कठिन हुनेछ ।
त्यसैले, संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति सहजीकरण गरिदिने जनाएको विविसीले उल्लेख गरेको छ ।
युनिसेफले एक विज्ञप्ति जारी गर्दै विभिन्न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहेको समयमा उसले कोभ्याक्स सुविधाको तर्फबाट ती देशहरूका निम्ति खोप खरिद गरी आपूर्ति गर्ने जनाएको छ । यसका साथै उसले ढुवानी, बन्दोबस्ती तथा भण्डारणको काम समेत गर्ने बताएको छ ।
युनिसेफले विश्व स्वास्थ्य सङ्गठन, गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल), विश्व ब्याङ्क, पीएएचओ (प्यान अमेरिकी स्वास्थ्य सङ्गठन), बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनलगायतका संस्थासँग सहकार्य गरि उल्लेखित कार्यहरु गर्ने बताइएको छ ।
कोभिड(१९ सम्बन्धी विभिन्न खोप निर्माताहरूले बनाइरहेका विभिन्न खोपको अनुसन्धान, विकास, उत्पादनमा सघाउ पुर्याउन तथा तिनको मूल्य निर्धारण गर्ने विश्वव्यापी मञ्चको रूपमा कोभ्याक्स गठन भएको हो । यसमा सहभागी सबै देशले खोपको विकास हुनेबित्तिकै त्यसमा समान पहुँच पाउने जनाइएको छ ।
कोभ्याक्सको प्रारम्भिक लक्ष्य भनेको सन् २०२१ को अन्त्यसम्ममा खोपका २ अर्ब डोज (मात्रा) उपलब्ध गराउनु हो । जोखिममा परेका मानिस तथा अग्रपङ्तिमा रहेका स्वास्थ्यकर्मीहरूलाई सुरक्षित पार्न त्यो पर्याप्त हुने उसले बताएको छ । सोही कोभ्याक्ससँगको सहकार्यमा युनिसेफले खोपको बन्दोबस्तीमा सहजीकरण गर्ने बताएको हो ।
खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीले नेपाल सहित निम्न आय भएका देशहरूमा स्वास्थ्यकर्मीहरूलाई तथा उच्च जोखिममा रहेका मानिसहरूलाई खोप दिलाउन, अनि ती देशमा आवश्यकताअनुसार आपूर्ति गर्न बफर स्टक बनाउन प्रारम्भिक पुँजी उपलब्ध गराउनेछ ।
विश्वभरि नै खोप कार्यक्रममा युनिसेफको स्थापित क्षमता छ । करिब १०० देशको तर्फबाट नियमित खोप कार्यक्रमसहित महामारीको समयमा खोप उपलब्ध गराउनका लागि वार्षिक २ अर्बको सङ्ख्यामा खोप खरिद गर्ने विश्वकै ठूलो खरिदकर्तामा युनिसेफ पर्छ । नेपालमा पनि युनिसेफ सरकारको राष्ट्रिय खोप कार्यक्रमको एउटा मुख्य साझेदार हो । उसले नेपालभरि खोप सेवा प्रवाह सुदृढ पार्न प्राविधिक तथा वित्तीय सहयोग दिँदै आएको छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय, अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्