आजसम्मकै धेरै १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

काठमाडौं ।
पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरस कोभिड १९ बाट थप १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४ सय ५४ संक्रमित थपिएको जानकारी दिए ।
जसमध्ये काठमाण्डौ उपत्यकामा मात्र ६९६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६२० जना, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९७२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३६ हजार ६७२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ७०१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख २१ हजार १८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार २९१ जना र होम आइसोलेसनमा ६ हजार ६३४ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ७८ जना क्वारेन्टिनमा रहेका छन् । देशभर २५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १०५ जना रहेका छन् ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ५१ हजार ९२९ पुगेको छ ।
त्यस्तै, नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्