वर्षमा ६ पल्टभन्दा बढी घरेलु जाँडरक्सी पार्न नदिने, बढीमा ५ लिटर रक्सी र १० लिटरसम्म जाँड

काठमाडौं
सर्वोच्च अदालतले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिने र बढीमा ५ लिटर रक्सी र १० लिटरसम्म घरेलु जाँड बनाउन दिन आदेश दिएको छ ।
न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो । गत माघमा भएको फैसलाको सोमबार सार्वजनिक पूर्ण पाठमा सर्वोच्चले सरकारका निकायलाई यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका लागि मौजुदा कानुनमा कडाइ गर्न पनि आदेश दिएको उल्लेख गरेको छ ।
कानुनले गरेको व्यवस्थाअनुरूप नै सूचनादाताहरूले उत्पादन गरे÷नगरेको प्रभावकारी अनुगमन गर्ने व्यवस्था मिलाउन साथै इजाजतपत्रवालाले प्रत्येक बोतलमा अन्तशुल्क टिकट टाँसेको मदिरा मात्र बिक्री गरेको छ वा छैन भन्ने प्रभावकारी अनुगमन गरी कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउन सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, गृह, उद्योग वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रहरी प्रधान कार्यालय, आन्तरिक राजस्व विभाग लगायत निकायलाई निर्देशनात्मक आदेश दिएको छ ।
व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तु मिसाएर घरेलु जाँड, रक्सी, छ्याङ, तोङ्बा, निगारजस्ता मदिराजन्य पदार्थ छ्यापछ्याप्ती बिक्रीवितरण र सेवन भइरहेको भन्दै अधिवक्ता जगन्नाथ मिश्र, सुमिता डंगोल, शारदा गुरुङ र नवीन कार्कीले कानुन न्याय तथा सामाजिक कल्याण मञ्चका तर्फबाट रिट दिएका थिए ।
मदिरासम्बन्धी नियम २०३३ को नियम (७) मा कुनै व्यक्तिले निजी प्रयोजनका लागि १ पटकमा ५ लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन अनुमति लिन नपर्ने उल्लेख छ । त्यस्तो जाँडरक्सी वर्षको ६ पटकभन्दा बढी बनाउन नपाइने, निजी प्रयोजनका लागि रक्सी वा जाँड बनाउने व्यक्तिले सो जाँड वा रक्सी बनाएको सूचना अन्तशुल्क अधिकारीलाई दिनुपर्ने व्यवस्था छ ।
आफ्नो धर्म, रीतिरिवाज, संस्कृति जोगाउन निजी प्रयोजनका लागि वर्षभरिमा ३० लिटरसम्म रक्सी बनाउन र ६० लिटरसम्म जाँड बनाउन सक्ने सुविधा कानुनले दिएको छ ।
तर, विदेशी विभिन्न ब्राण्डका रक्सीहरु महङ्गोमा भित्रिने तर नेपालमै उत्पादन हुने जाँडरक्सीहरुलाई नियन्त्रण गर्न खोजिएको प्रति भने सरोकारवालाहरुले आपत्ति समेत जनाउने गरेका छन् । उनीहरुले स्वदेशी रक्सीलाई व्यवस्थित रुपमा उत्पादन गरि यसलाई नेपाली ब्राण्ड बनाउनुपर्ने माग समेत गर्ने गरेका छन् ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्