पछिल्लो २४ घण्टामा थपिए ४ हजार ३६४ कोरोना संक्रमित, उपत्यकामा मात्रै २ हजार ५४० जना

काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर नोभेल कोरोना भाइरस संक्रमण थप ४ हजार ३६४ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६४ संक्रमित थपिएका हुन् ।
संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्रै २ हजार ५४० जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ कोरोना संक्रमित थपिएका हुन् ।
आजसम्म सक्रिय संक्रमितको संख्या देशभर २६ हजार ६८४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको थियो । यो सँगै आजसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।
देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् । यो सँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ५९० पुगेको छ । हालसम्म कुल संक्रमितको शून्य दशमलव ६० प्रतिशतको मृत्यु भएको छ ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्