लोकसेवा विरुद्ध सर्वोच्चमा रिट : संक्रमितलाई परिक्षाबाट वञ्चित गराउन नहुने माग

काठमाडौँ
कोरोना संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको परिक्षा मापदण्डविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ताहरु शैलेन्द्र हरिजन र प्रवीनकुमार यादवले दर्ता गरेको निवेदनमा संक्रमितलाई छुट्टै केन्द्र वा सुरक्षित उपाय गरेर परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न माग गरिएको छ ।
गत चैतमा कोरोना संक्रमणको कारण रोकिएको परिक्षा आगामी कार्तिक १८ गतेदेखि शाखा अधिकृत, नासुका लागि परीक्षा कार्यक्रम तोकेर लोकसेवा आयोगले सूचना निकालेको थियो ।
परीक्षा सञ्चालनका लागि लोकसेवाले ‘संक्रमणको विशेष अवस्थामा परीक्षासञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ जारी गरेको थियो । मापदण्डको बुँदा नम्बर ८ मा परीक्षार्थी आफू कोरोना संक्रमण भए नभएको स्वयंले घोषणा गर्नुपर्ने र संक्रमित भएमा परीक्षा केन्द्रमा प्रवेश गर्न नहुने भन्ने व्यवस्था छ ।
त्यही व्यवस्थाका कारणले परीक्षार्थीको हक हनन हुने निवेदनमा दाबी गरिएको छ । निवेदनमा लोकसेवाको मापदण्डका कारण संविधानले प्रदान गरेको समानता र रोजगारीको अधिकारबाट वञ्चित हुने दाबी छ । संक्रमणका कारण परीक्षा दिन नपाउनेहरु अर्को वर्ष उमेरहदका कारण अवसरबाट वञ्चित हुनसक्ने सक्नेछन् । ।
निवेदनमा लोकसेवाको उक्त मापदण्ड खारेजका लागि तत्काल अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ ।
लोकसेवा आयोगलाई विपक्षी बनाई दर्ता गरिएको निवेदनमाथि बिहीवार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्