ओहोरा (पुसेपन्ध्र) चाडः उँधौली यामान्त र उँभौली याम प्रारम्भ उत्सव

डा. मीन श्रीस मगर (minshrisphd@gmail.com)
खगोलशास्त्रीय हिसाबले डिसेम्बर एक्काइसमा सूर्य मकररेखामा प्रवेश गर्ने हुँदा उँधौली यामको अन्त भएर उँभौली यामको प्रारम्भ भएको मानिन्छ । उँधौलीको अन्त र उँभौलीको प्रारम्भ विन्दूमा वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ भने जाडोको उत्कर्ष पनि मानिन्छ । प्राचीनकालदेखि नै विश्वभरका मानव समाजमा अयान्तको अवसरमा कुनै न कुनै चाडवाड मनाउने चलनको विकास गरिएको पाइन्छ ।
ओहोरा, पुसेपन्ध्र, उँभौली, ल्होसार, क्रिसमस, नयाँ वर्ष आदि नामबाट विभिन्न स्थान र भेगका समाजमा हिउँदे अयान्त (winter solstice) तथा गृष्म अयनारम्भ (summer solstice) उत्सव मनाउने गरिएको पाइन्छ ।
यस्ता चाडबाडहरू विश्वका सबै भू–भाग र देशहरूमा फरक–फरक समयमा मनाइनुका कारण ऋतु परिवर्तको समय भिन्नता नै हो । मगर समाजमा हरेक वर्षको पुस पन्ध्र गतेका दिन वनभोजका रुपमा खानपिन र रमाइलो गर्ने पुरानो परम्परालाई ओहोरा भनिन्छ । उँधौली यामको अन्त र उँभौली यामको प्रारम्भको अवसरमा मनाइने ओहोरालाई विशुद्ध सांस्कृतिक वा मौसमी चाडको रुपमा लिइन्छ । पुसको प्रन्ध्रसम्ममा वर्षे बाली कोदो, धान, मास, सिल्टुङ आदि सेहार्ने काम सकिन्छ भने हिउँदे बाली जौं, गहुँ, तोरी लगाउने काम पनि सकिएको हुन्छ । यही फुर्सदिलो समयमा पुस पन्ध्र गतेका दिन गण्डकी प्रश्रवण क्षेत्रका गाउँ–गाउँमा ओहोरा खाने गरिन्छ ।
मगर भाषाका वरिष्ठ साहित्यकार लोकबहादुर थापा मगरका अनुसार खासगरी मगर गाउँका युवा–युवतीको होरट्या (हुड्डा) समूहले पुस प्रन्धका दिन ओहोरा खाने परम्परा पाइन्छ । हुड्डा र पर्मा (परिम) एक खालको पारस्परिक श्रम प्रणाली हो । यस अन्तर्गत श्रमको विनिमय हुन्छ । यो व्यक्तिगत तहदेखि सामुहिक स्तरसम्म हुने गर्दछ । गण्डकी प्रश्रवण क्षेत्रका अधिकांश मगर बस्तीहरूमा हुड्डा र पर्मा प्रथा अहिलेसम्म पनि अस्तित्वमा रहेको छ । यो प्रथा नेपालको परम्परागत अर्थतन्त्र एवं उत्पादन प्रणाली अन्तर्गत श्रम संगठनको रुपमा रहेको छ ।
मगर जातिमा प्रचलित परम्परागत आर्थिक संस्थाका रुपमा हुड्डा, पर्मा र झरालीलाई लिनसकिन्छ । मुख्य बाली मकै, कोदो, आदि छर्ने, रोप्ने, गोडमेल गर्ने तथा भित्र्याउने समयमा आपसी सहयोगका लागि टोल–टोलमा हरेक घरबाट एक–एक जना सदस्यको सहभागितामा निर्माण गरिने अस्थायी किसिमको परम्परागत आर्थिक संस्थालाई मगर जातिमा हुड्डा वा होरट्या वा वरिमपरिम भनिन्छ । अस्थायी प्रकृतिको भए पनि ‘हुड्डा’ हिउँदे र वर्षे खेतीपातीको समयमा निरन्तर रुपमा अस्तित्वमा आइरहन्छ । कसैलाई कामको बढी चाप भएमा हुड्डा किन्ने चलन छ । हुड्डाका कुनै सदस्यको अनुपस्थिति रहेमा तोकिएको दरमा रकम बुझाउनुपर्ने हुन्छ । यसरी संकलन भएको रकम तथा हुड्डा बेचेको रकम जम्मा गरेर पुसेपन्ध्रमा हुड्डा खाने कार्यक्रमलाई ओहोरा खाने भन्ने गरिन्छ ।
हुड्डा समूहका अतिरिक्त घाटु, मारुनी, भैलो–देउसी जस्ता सांस्कृतिक समूहले दानका रुपमा संकलन गरेको अन्न र पैसाबाट पुस पन्ध्रकै दिन खानपिन एवं नाचगानको कार्यक्रम गर्दछन् । यस्ता कार्यक्रमहरूलाई पनि ओहोरा खाने भन्ने गरिन्छ । त्यसकारण मगर भाषिक ओहोरा शब्दले होरट्या जस्ता परम्परागत संस्थाहरूको वार्षिकोत्सव समाहरोलाई बुझाउने गरेको देखिन्छ ।
पाल्पा, स्याङ्जा र तनहुँतिरका मगर गाउँहरूमा कोदो रोप्ने बेलामा होरट्या समूहले ओहोली गाउने चलन छ । पाल्पातिर कोदोलाई मगर भाषामा राङ भनिने हुँदा कोदो रोपाइँमा गाइने गीतलाई राङ्कोओह्लिङ भनियो । कालान्तरमा पाल्पाको झडेवाबाट स्याङ्जा हुँदै तनहूँसम्म विस्तार हुनेक्रममा उक्त शब्द ओह्लिङ हुँदै ओहोली भएको भनाई पाइन्छ । त्यसैले ओहोरा शब्दको अन्तरसम्बन्ध पनि कोदो खेती प्रणालीसँग रहेको बुझिन्छ । ओहोरा खाने कार्यक्रममा होरट्या समूह वा सांस्कृतिक समूहले वल्लोपल्लो गाउँका साथीभाइ वा गन्यमान्य व्यक्तिहरूलाई समेत निम्तो बोलाउने गर्दछन् । यसरी निम्तो खान आउनेहरूले भने निम्तो दस्तुर बुझाउने चलन रहेको छ । घाटु, मारुनी, भैलो–देउसी जस्ता सांस्कृतिक समूहको ओहोरा खाने कार्यक्रममा दानदक्षिणा दिने घरका सदस्यहरूलाई पनि निम्तो बोलाइन्छ । ओहोरा खानेक्रममा गाउँकै कुनै अनुकूल एवं उपयुक्त स्थान खुल्ला खेतबारीमा भेला भएर रोटी, मासु, दालभात, जाँडरक्सी आदिका परिकार बनाएर खाने र तीन–चार दिनसम्म नाचगान रमाइलो गर्ने चलन पाइन्छ (थापा, २०५०: १४) । पहिलापहिला पाल्पाको कुवादी, गरुङ्दी र घामका युवायुवतीहरूले खोरिया फाँडेर मास लगाउने गर्दथे । मास पाकेपछि तेछो पेवा खाने भनेर पुस पन्ध्रमा त्यही खोरियाको मासको बारा बनाई गाउँका प्रतिष्ठित व्यक्तिहरूलाई निम्त्याएर ख्वाउने गर्दथे । तनहूँ र स्याङ्जाका मगर युवतीहरूले बारा, मासु, जाडरक्सी बनाएर युवा तथा अन्य निम्तारूलाई खुवाउने चलन पनि थियो । अहिले पनि यस अवसरमा छोरीचेली बोलाएर मीठो मसिनो खाने ख्वाउने चलन छ (बराल मगर, २०५०: १२१–१२२) । शुक्लागण्डकी नगरपालिका ३ कालिमर्याङ, तनहुँकी चन्द्रज्योति आले मगरका अनुसार पुस पन्ध्र गते मनाइने ‘ओहोरा खाने’ चाडलाई केही दसक अघिसम्म यस भेगमा दसैंपछिको ठूलो चाडको रुपमा लिइन्थ्यो । ओहोरा खानका लागि टोलटोलमा सुँगुर र खसी पालेर राख्ने चलन थियो । खासगरी यो चाडलाई उँधौली यामको बिसाउनीको रुपमा लिइन्छ ।
तनहूँतिरको मगर समाजमा वैशाख पूर्णिमामा घाँटु नाचेर जेठ पूर्णिमामा सेलाउँदा (समापन गर्दा) ‘घाँटु खोइखाने’ चलन छ । घाँटु समूह र सहयोगी मिलेर घाँटु खोइखाने क्रममा कौडा नाचेर खैचडी सेलाउँदछन् । यसैगरी असारमा रोपाइँ सकेपछि ‘मैदार खाने’ (रोपाई बिसाउनी खाने) गरिन्छ । खैचडी सेलाएपछि साउने सङ्क्रान्तिदेखि मादल फुकाइन्छ । त्यसपछि शरदकालीन चाडवाडका साथै “वर्षा लाग्यो खेती र पाती; हिउँद लाग्यो माया र पिरती” भने झैं नाचगान रमाइलो वातावरण शुरु हुन्छ ।
उँधौली यामको अन्त अर्थात बिसाउनीको रुपमा तनहूँतिरका मगरहरूले ‘ओहोरा खाने’ चाड मनाउने परम्परा रहेको छ । वर्षभरिको ठूलो रात (लामो रात) लाई पुल्टुङ (चामलको पिठो मुछेर डल्लो बनाई गहतको दालमा पकाएको परिकार), बारा (मास, मस्याम, बोडी आदिलाई पिसेर अदुवा, नूनमा मुछेर तेलमा तारेको रोटी), सेलरोटी, सुँगुरको मासु, रक्सी र हानछुरी (जाँड छान्ने बासँको चोयाँको जाली) मा छानेको राङ हान (कोदोको जाँड), तरुल, तिलको छोप आदि खाएर एवं झाम्रे बसेर बिताउने चलन रहेको छ । सामान्यतया ओहोरा खाने चाडसँगै मादल पनि सेलाएको मानिन्छ ।
देवचुली नगरपालिका नवलपरासीकी पूर्णमाया पुलामी मगरका अनुसार मंसिरेभेजा (मंसिर पूर्णिमामा मनाइने उत्सव) को अवसरमा मारुनी समापन नगरिएका गाउँठाउँमा पुसेपन्ध्रका दिन मारुनी नचाएर समापन गरी कौह्रानाच थालनी गरिन्छ । रुकुम रोल्पा लगायतका कतिपय मगर बस्तीमा भने मादल सेलाउने औपचारिक रीति पुस मसान्त (माघे सङ्क्रान्तिको अघिल्लो दिन) गरिएको पाइन्छ । गण्डकी प्रश्रवणक्षेत्रको कतिपय मगर समाजमा ओहोरा खाने अथवा पुस पन्ध्र मनाउने चलनलाई खुवा खाने पनि भनिन्छ । रुकुम–रोल्पाक्षेत्रका मगरहरूले माघे संक्रान्तिको अवसरमा खेलिने तीर (धनुवाण) पुस पन्ध्रकै दिन फुकाउने (नम्सुइँ) विधि सम्पन्न गरी तीर हान्ने अभ्यास थाल्दछन् ।
मगरका अतिरिक्त अन्य समुदायमा पनि पुसेपन्ध्र मनाउने चलन पाइन्छ । लमजुङका दुरा समुदायले पुस पन्ध्रलाई म्हैप्रु नकुमा चाडको रुपमा मनाउने गर्दछन् । उनीहरूले यसै दिन नयाँ वर्गचक्र फेरिने मान्यताका आधारमा नयाँ वर्षको रुपमा मनाउने गरेको पाइन्छ (लमजुङ समाचारदाता, २०७६: १०) । सुदूर पश्चिमतिर पुस पन्ध्र गतेलाई पुसेपन्ध्र चाडको नामले मनाउने चलन छ । बैतडी, डोटी, दार्चुला आदि सुदूर पश्चिम प्रदेशका जिल्लाहरूमा पुसेपन्ध्रलाई ठूलीरात पनि भनिन्छ । पुस पन्ध्र गते वर्षभरिकै सबैभन्दा लामो रात र धेरै चिसो हुने मान्यताका आधारमा रातभरि आगो तापेर बस्ने तथा चिसोबाट बच्न घिउमा पकाएका खानेकुरा खाने चलन छ । यस क्षेत्रमा पुस पन्ध्र गते तरुल खन्ने र साँझपख तरुलका साथै सखरखण्ड, पिँडालु जस्ता कण्दमूल र कबेली (फर्सी) उसिनेर खाने गरिन्छ । चामलको पिठोबाट बनेको निससे (ढुकढुके) रोटी टोलटोलमा सामुहिक रुपमा पकाएर समेत खाने गरिन्छ । सेलरोटी, बटुक (पुरी) र माणा (माडा) पकाएर खाने तथा उखु पेलेर गुड बनाउने र उखान टुक्का (किंवदन्तीका कथा; आइना र बातै) सुनाउने गरिन्छ । दार्चुलातिर पुसेपन्ध्रको रातभरि मीठामीठा परिकार खाने, किंवदन्तीका कथा सुनेर जाग्राम बस्ने, देउडा खेल्ने र बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको छ (दयाल, सिंह र जोशी, २०७६: १५) ।
सुदूर पश्चिम प्रदेशकै बाजुरा, बझाङ, अछाम र डोटीतिर दसैं–तिहारपछिको ठूलो चाडको रुपमा पुसको औंसीमा भुवा पर्व मनाइन्छ । औंसीको रातमा भुवाखाडा (भुवा नाच्ने चउर) मा भेला भएर ठूला–ठूला मुढामा आगो बालेर भुवानाच थालनी गरिन्छ । दमाह बाजाको तालमा पुरुषहरूले हातमा तरबार वा खुकुरी र ढाल लिएर युद्धकलामा आधारित नाच प्रस्तुत गर्दछन् । कतिपयले राति देउडा पनि खेल्ने गरेको पाइन्छ । भुवा पर्व पुसे औंसीदेखि तीन वा पाँच दिनसम्म मनाइन्छ (पाध्याय, २०७३: १३ र सार्की, २०७६: १५) । यसैगरी कर्णालीतिर पुसको औंसीदेखि पञ्चमीसम्म ठूलो भैलो खेल्ने गरिन्छ । “ए आउँसी बार भैलो; दर बुधबार भैलो; दरमे खोली भैलो” भन्दै जुम्लाका महिला र पुरुष छुट्टाछुट्टै भैलो खेल्ने गर्दछन् । भैलो समाप्तीसँगै जम्मा भएको चामल, दाल र पैसाले पाटेभात (भोज) खाएर मनोरञ्जन लिने चलन छ । जुम्लाको हिउँदे भैलोको चलन जुम्ली राजा बलिराजको पालादेखि शुरु भएको विश्वास गरिन्छ (शाही, २०७६: १४) ।
गण्डकी र कर्णाली प्रश्रवणक्षेत्रका पहाडी समाजमा कृषि युगको थालनीसँगै पुसेपन्ध्र मनाउने चलनको विकास भएको बुझिन्छ । उच्च पहाडी तथा लेकाली भेगमा बसोबास गर्न रुचाउने मगर जातिले पशुपालन गरेर जीविका चलाउने क्रममा घुम्टे बसोबासको जीवनशैली (उँभौलीमा लेक र उँधौलीमा बेसी) अपनाएका थिए । यसैक्रममा उनीहरूले खोरिया खेती प्रणाली (slash and burn cultivation) पनि अघि बढाए ।
लेकाली भेगमा कोदो, जौ, उवा जस्ता अन्नको खेती गरियो । कोदो गोड्ने समयमा (असार पन्ध्रदेखि भदौ पन्ध्र) होरट्या समूहले ओहोली गाउने र मंसिरमा कोदो काटेर पुस पन्ध्रभित्र भण्डार गरेपछि ओहोरा खाने परम्पराको विकास गरियो । मध्य पुसतिर किसानहरू फुर्सदिला हुन्छन् । वर्षेबाली भित्र्याइसकिएको हुन्छ भने हिउँदेबाली छरिसकेर बारीमा भर्खर उम्रिएको अवस्था हुन्छ ।
अर्कोतर्फ उँधौली यामको अन्त र उँभौली यामको प्रारम्भको नयाँ वातावरण निर्माण भइरहेको हुन्छ । यसै अवसरमा फुर्सदिला पहाडी युवा किसानहरूको रसिलो, भरिलो र हँसिलो तन–मनको केही नयाँ उत्सव मनाउने प्रयास स्वरुप ओहोरा खाने चाड अर्थात पुसेपन्ध्रको विकास भएको बुझिन्छ । प्रारम्भमा कोदो खेतीको गोड्मेल गर्दा ओहोली गाएर रमाउने तथा कोदो सेहारिसकेपछि ओहोरा खाएर रमाउने चलनको विकास गरिएको भए पनि कालान्तरमा गएर खेतीपातीसँग सम्बन्धित होरट्या (हुड्डा) समूहका अतिरिक्त घाटु, मारुनी, भैलो–देउसी जस्ता सांस्कृतिक समूहले समेत पुस पन्ध्रका दिन ओहोरा खाएर दुई–तीन दिनसम्म नाचगान रमाइलो गर्ने चलन बन्यो । ओहोरा खाने चाड वास्तवमा उँधौली यामको बिसाउनी महोत्सव हो ।
गण्डकी प्रश्रवणक्षेत्रको मगर समाजमा ओहोरा भनिने यो चाडलाई सुदूर पश्चिम प्रदेशमा पुसेपन्ध्र नामले मनाइन्छ । पुस महिनामा तरुल, पिँडालु, सखरखण्ड जस्ता कन्दमूल पाइने हुनाले त्यसकै विशेष परिकार बनाइन्छ भने नयाँ धानको चामलको परिकार पुल्टुङ, माडा पकाएर खाने गरिन्छ । यसै समयको उत्पादन मास, बोडी, मस्याम, गहत, कोदो आदिको परिकार पनि खाइन्छ । करिब तीसको दसकदेखि प्रारम्भ भएको पहाडी भेगबाट तराई वा शहरीक्षेत्रतिरको बसाइँसराइँले पचास–साठीको दसकमा तीब्रता पाएसँगै गाउँघर सुनसान हुनेक्रममा कोदो खेती र परम्परागत संस्था होरट्या प्रथाका साथै घाँटु–मारुनी–भैली समूह पनि लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । त्यसैले वर्तमान परिवेशमा ‘ओहोरा खाने’ शब्दले पनि पूर्ववर्ती मौलिक अर्थबाट रुपान्तरण हुँदै ‘वनभोज खाने’ नयाँ अर्थमा समायोजित भइरहेको पाइन्छ ।
सन्दर्भ सामाग्री–सूची
थापा, खेमबहादुर. (२०५०). घाटु, नचरी र ओहोरा. ग्यावट (प्रकाश). सिद्धार्थनगरः नेपाल मगर विद्यार्थी संघ, भैरहवा बहुमुखी क्याम्पस, पृ. १२–१४ ।
दयाल, गोकर्ण, सिंह, दिलबहादुर र जोशी, लोकेन्द्र. (२०७६ पुस १७). पुसे पन्ध्र पर्वः हरायो ‘आइना र बातै’ सुन्ने चलन. गोरखापत्र. पृ. १५ ।
नेपाल, जनक. (२०७४ असोज ३१). कर्णालीमा भित्रिएको तिहार. कान्तिपुर (भिललिमिली तिहार विशेष). पृ. ठ ।
पाध्याय, धर्मराज. (२०७३ पुस १६). सुदूर पश्चिमका गाउँमा सुरु भयो ढाल तरबार नाच. गोरखापत्र. पृ. १३ ।
बराल मगर, केशरजंग. (२०५०, पुनः मुद्रण २०६८). पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृति. काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
लमजुङ समाचारदाता. (२०७६ पुस ८). राष्ट्रिय पर्व घोषणा गर्न माग. गोरखापत्र. पृ. १० ।
शाही, नेत्र. (२०७६ पुस १६). जुम्लामा पुसे भैलोको रौनक. गोरखापत्र. पृ. १४ ।
श्रीस मगर, मीन. (२०६६). पश्चिमाञ्चल विकास क्षेत्रका मगर समुदायमा प्रचलित लोकगीतनृत्यको वर्तमान अवस्था र चुनौतिहरू. काठमाडौं: मगर अध्ययन केन्द्र .
––– (२०७५). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
सार्की, शेरबहादुर. (२०७६ पुस १२). भुवामा रमाउँदै स्थानीयबासी. गोरखापत्र. पृ. १५ ।
क्याटेगोरी : अन्य, कला र मनोरञ्जन, पत्रपत्रिका, विचार
तपाईको कमेन्ट लेख्नुहोस्