ओली पाँच वर्ष नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ । आज बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष र केपी शर्मा ओली पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने भएका छन् ।
नेकपाका एक नेताकाअनुसार पार्टी एकताअघि भएको सहमति बुधबारको जिम्मेवारी बाँडफाँडसँगै समाप्त भएको छ । यसअघि दुई अध्यक्षले सरकारको आधाआधा कार्यकाल नेतृत्व गर्ने सहमति थियो । ती नेताले भने,आज दुई अध्यक्षको कार्यविभाजन भयो। केपी ओली बाँकी रहेको अवधिभर सरकारको नर्तृत्व गर्ने र दाहालले पनि बाँकी रहेको अवधिभर पार्टी कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनुभएको छ। पहिला आलोपालो भन्ने थियो। आजदेखि सकियो।
बैठकले पार्टी अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम गरेको छ । पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ तर बैठकको सञ्चालन भने अध्यक्ष दाहालले गर्नेछन् । अध्यक्षद्वयबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ । बैठकमा मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल नभएको जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले छिट्टै मन्त्रिमण्डल पुनःगठन गर्ने बताए ।
केही समय देखि पार्टीमा एक व्यक्ति एकको जिम्मेवारी हुनुपर्ने एजेण्डा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएका थिए। सचिवालयको बुधबारको निर्णयसँगै ओली पाँचै वर्ष प्रधानमन्त्री हुने निश्चित भएको छ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्