सरकारले डिप्लोमेटिक नोट पठाए पनि भारतले बेवास्ता गर्यो :प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको विषयमा सरकारले कूटनीतिक टिप्पणी (डिप्लोमेटिक नोट) पठाए पनि भारतले बेवास्ता गरेको बताएका छन् ।
पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले महाकालीको मुहान लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको दाबीसहित भारत सरकारलाई जानकारी गराए पनि रेस्पोन्स नगरेको ब्रिफिङ गरेका हुन् ।
‘नेपाल–भारत सीमा समस्याबारे हामीले पटकपटक ध्यानाकर्षण गराएका छौं । भारतको भ्रमणमा गएका बेला पनि यस विषयमा जानकारी गराएका छौं । पहलै नगरेको भने होइन । पुरानै समस्या भएकाले भारतले खासै चासो देखाएको छैन । तै पनि हामीसँग यथेष्ट प्रमाण छन् । त्यतिबेला जनगणना गर्ने हाकिमहरू पनि जीवितै भएकाले हाम्रो दाबी पुग्छ । त्यतिबेला तिरो तिरेको रसिद प्रमाण पनि हामीसँग सुरक्षित छन् । अर्को, यस विषयमा राष्ट्रिय सहमति जुटेको छ’, प्रचण्डले भने ।
उनले नेपाल–भारतबीच धेरै ठाउँमा सीमा समस्या भए पनि कालापानी र सुस्ता अलि बढी दुख्ने गरेको बताउँदै सरकारले कूटनीतिक प्रयासबाटै समस्या समाधान गर्ने भन्दै सदस्यहरूलाई आश्वस्त पारेका थिए ।
‘सम्झौता भएर दिएको भूमि पनि होइन । हामीले दाबी छाड्नुपर्ने कारण छैन । भारतले प्रकाशित गरेको नक्सा नवीन र नयाँ पनि होइन,’ उनले बैठकमा थप जवाफ दिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्