Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

एमसीसी विवादले नेकपाको स्थायी समिति बैठक लम्बियो


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा विवाद हुँदा लम्बिएको छ। उक्त सम्झौता इन्डो प्यासिफिक स्ट्रयाटेजीको अंग हो की हैन भनेर स्थायी समिति सदस्यहरुले स्पष्टता माग  गरेपछी बैठक लम्बीएको हो ।

सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन ०७५ असार ३० मा दर्ता गराएको थियो। प्रस्ताव संसद्को हिउँदे अधिवेशनमा पारित गराउने तयारी छ। हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ। संसदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

एमसीसीबारे स्थायी समिति सदस्य भीम रावल लगायतका सदस्यहरुले प्रष्टता माग गरेका थिए । नेता रावलले बुँदागत रुपमा एमसीसीमा इन्डो प्यासिफिक रणनीति हावी हुने सम्भावना रहेको देखिएकाले यसलाई लागू गर्न नहुने बताएका थिए ।

नेपालको महालेखा परीक्षकको कार्यालयले एमसीसीको लेखा परीक्षण गर्न नपाउने तर अमेरिकाले मात्रै लेखा परीक्षण गर्न पाउने उल्लेख भएपछि यसको विरोध भएको थियो । बैठकमा परराष्ट्रमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले एमसीसी इन्डो प्यासिफिको रणनीतिको अंग नभएको मौखिक जवाफ दिएको उनले बताए ।

बैठकमा सबै सदस्यले राखेका धारणाको सम्बन्धमा पार्टी अध्यक्ष ‘प्रचण्ड’ले विभिन्न विषयमा जवाफ दिए । प्रचण्डले जवाफ दिने क्रममा स्थायी कमिटीको बैठकमा व्यक्त विचारले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीब्रता प्रदान गर्न, तीनै तहको सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको प्रष्ट पारे । एमसीसीको विषय चर्को रुपमा उठेपछि बैठक एक दिन लम्बिएको हो।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्