नेकपा उपाध्यक्ष बने वामदेव गौतम

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम उपाध्यक्ष भएका छन् ।बुधबारबाट राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरे लगत्तै बामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।
गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरिएको हो ।
कतिपय केन्द्रीय कमिटी सदस्यहरुले उपाध्यक्ष पद राख्ने हो भने सबै कमिटीमा राखिनुपर्ने माग गरेका थिए । तर तत्काललाई केन्द्रीय कमिटीमा मात्र उपाध्यक्ष पद राख्ने निर्णय पारित भएको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए ।
केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए । विधान संशोधनसँगै उपाध्यक्षका काम, कर्तव्य र अधिकार पनि व्यवस्थित गरिएको उनले जानकारी दिए ।
क्याटेगोरी : राजनीति
तपाईको कमेन्ट लेख्नुहोस्