काँग्रेस सांसदबाट लगातार तेस्रो दिन संसद बैठक अवरोध

काठमाडौं – काँग्रेसले राजनीतिक प्रतिशोधका आधारमा नेता विजय गच्छदारलाई भ्रष्टाचारको मुद्दा लगाइएको भन्दै विरोधमा लगातार संसद बैठक अवरुद्ध पारेको छ ।
बिहीबारयता काँग्रेसले संसद बैठक लगातार अवरुद्ध गर्दै आएको हो । आइतबारको बैठकमा पनि काँग्रेस सांसदहरु सुरुमै आसनबाट उठेर अवरोध गरेपछि नियमित कार्यसुचीमा प्रवेश नै गर्न नसकेपछि स्थगित गरिएको छ ।
काँग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले सदन सुचारु गर्न सहयोग गर्न विशेष अनुरोध गरेका थिए । लगत्तै काँग्रेस सांसद दिलेन्द्र बडुले ललिता निवास जग्गा प्रकरणमा नेकपाका नेताहरुलाई जोगाएको तर काँग्रेसका नेतालाई मुद्दा चलाएको भन्दै आफुहरुले बोल्न पाउनुपर्ने माग राखेका थिए । तर सभामुख सापाकोटाले ललिता प्रकरण संसदको कार्यक्षेत्रभित्र नपर्ने जवाफ दिँदै संसदमा छलफलका लागि ढोका खोल्न पुनः आग्रह गरेका थिए ।
त्यसपछि पनि काँग्रेस सांसद नबसेपछि सभामुख सापकोटाले माघ २८ गते मङ्गलबार १ बजे बस्नेगरी बैठक स्थगित भएको घोषणा गरे ।
बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवम् काँग्रेस उपसभापति विजय कुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारले गत बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
क्याटेगोरी : राजनीति
तपाईको कमेन्ट लेख्नुहोस्